बिर्तामोड , माघ ६। भर्खरै संचालनमा आएको बिर्तामोड क्षेत्रकै पहिलो उज्यालो चिन्तन चौतारी रिसोर्टले यही माघ ९ गते लाइभ कन्सर्ट गर्ने भएको छ ।

नेपालका चर्चित कलाकारहरुलाई ल्याएर रिसोर्टले लाइभ कन्सर्ट गर्न लागेको हो । गायिका आस्था राउत , लिजर्ड बैण्ड , कलाकार सुवाष मेचेलगायतको उपस्थितिमा कन्सर्ट गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी रिसोर्टले जानकारी दिएको छ ।
बिर्तामोडको मुक्ति चोकदेखि साढे पाँच किलोमिटर दक्षिण हल्दीबारी जाने कालोपत्रे सडकले छुनेगरी बिर्तामोड ९ को उज्यालो चिन्तन चौकमा सो रिसोर्ट रहेको छ । युवा व्यवसायी प्रकाश बुढाथोकीले आफ्नो १० कठ्ठा जग्गामा करिव ४ करोडको लागतमा सो रिसोर्ट संचालनमा ल्याएका हुन् ।

रिसोर्टमा एटेज डिलक्स रुम, बालबालिका र ठूलाका लागि भिन्नाभिन्नै स्वीमिङ पूल, पार्टी प्यालेस, फनपार्क , रेष्टुरेन्टलगायतका सुविधाहरु रहेका छन् । पर्यटकहरुलाई साताको एकदिन गीत–संगीतमार्फत मनोरंजन दिने उद्धेश्यले आफूले सो सांगीतिक साँझ गर्न लागेको संचालक बुढाथोकीले बताए । पर्यटन प्रवद्र्धन गर्दै आफ्नै गाउँठाउँमा केही गरौं भन्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याएको उनले जनाए । बिर्तामोडको कोलाहल र प्रदुषणबाट मुक्त भएर शान्त वातावरणमा रमाउन चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलिएको उनको भनाइ छ । नेपाली , थकाली , चाइनिज , इन्डियन खानाको व्यवस्था रहने त्यस रिसोर्टमा आफैले उत्पादन गरेको हाँस , कुखुरा , बटाइ, माछा उपलब्ध रहेको संचालक बुढाथोकीले जानकारी दिए ।

आफ्नो रिसोर्टको बैशाख १ गते ग्रान्ड ओपनिङ गर्ने कार्यक्रम राखिएको अर्का संचालक बिन्दा बुढाथोकीले बताइन् । उनले हस्पिटालिटीका लागि आबश्यक सबै पूर्वाधार तयार गरिएको बताउँदैै सन्थाल ,नेवार , राजवंशी जातिको संस्कृतिलाई समावेश गरिने जानकारी दिइन् । ट्राभल एजेन्सी , ट्रेकिङजस्ता सुविधाहरुसमेत रिसोर्टमा उपलब्ध रहेको उनको भनाइ छ ।