रामप्रसाद ढुंगेल
काठमाडौं , माघ ६ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा विभिन्न खाडी मुलुकमा कार्यरत रहँदा कोरोनाको मुख्य प्रभावमा परेका करिब ७ हजार नेपाली श्रमिकहरुलाई प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले सहयोग गरेको छ ।

विगत ५ महिनामा त्यति धेरै नेपाली श्रमिकहरुलाई पिएनसिसीले विभिन्न सहजीकरण तथा समस्या समाधानका लागि समन्वय गरेको हो ।
मलेसियालगायत कतार, साउदी अरबजस्ता देशहरूमा कार्यरत नेपालीहरुलाई सहजीकरण गर्न भनी उक्त देशहरुमा खटिएका ३२ जना स्वयंसेवकहरुलाई माघ २ गते सम्मान तथा विदाई कार्यक्रम गर्दै पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले ६ हजार ८ सय २७ जना नेपाली श्रमिकहरुलाई घरफिर्ती, निःशुल्क हवाई टिकट, अस्थायी सेल्टर तथा खाद्यान्न सहयोग, कानुनी सहयोग, उपचार सहयोगजस्ता विभिन्न शिर्षकमा सहयोग उपलब्ध गराएको बताए ।
गत २०२० अगस्टदेखि डिसेम्बरसम्मको ५ महिनाको अवधिमा चार गन्तव्य मुलुकमा कार्यरत ८–८ जनाका दरले ३२ जना स्वयंसेवकले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, एनआरएन र अन्य नेपाली संघसंस्थाहरुको सहकार्यमा कोरोनाबाट प्रभावित नेपाली श्रमिकहरुलाई फारम भर्नेदेखि, जेलबाट निकाली स्वदेश फर्काउने, हवाई टिकट उपलब्ध गराउने, तलब सुबिधा उपलब्ध गराउन समन्वय गर्ने कामहरु आफ्नो समूहले गरेको पिएनसिसीका प्रोजेक्ट संयोजक एकता ज्ञवालीले जानकारी दिइन् ।

परियोजना संयोजक ज्ञवालीका अनुसार यो अवधिमा मलेसियामा २ हजार ३ सय २२, साउदी अरबमा १ हजार ८ सय ४१, कतारमा १ हजार ४ सय ४० र अन्य एक खाडी देशबाट १ हजार २ सय २४जनालाई प्रत्यक्ष सहजीकरण गरिएको छ ।
यसमा ६ हजार ३ सय ४६ जना पुरुष कामदार रहेका छन् भने ४ सय ८३ जना महिला कामदार लाभान्वित भएका छन् ।
कोरोनाको मध्य प्रभाव परेका अगस्ट महिनादेखि संचालित यो परियोजनाको मुख्य काम स्वदेशफिर्तीका लागि ४ देशहरूबाट १ हजार ७ सय ४९ जनालाई नेपाल फर्कन गन्तव्य मुलुकमा रहेका स्वयंसेवकहरुले समन्वय तथा सहजीकरण गरेको परियोजना संयोजक ज्ञवालीले बताए ।
कार्यक्रम संयोजकले विदाई तथा सम्मान कार्यक्रममा प्रस्तुत गरेको रिपोर्ट अनुसार पिएनसिसीका स्वयंसेवकहरुले चार देशमा प्रभावित नेपालीहरुमध्ये
२ सय ९६ जनालाई सम्बन्धित मुलुकहरुमा नयाँ काम दिलाउन निःशुल्क सहजीकरण गरेका छन् भने २ सय २७ जनाको रोकिएको तलब सम्बन्धित कम्पनीबाट उपलब्ध गराउन समन्वय गरेका छन् । २७ जनाले ओभरटाइम काम गरेको रकम सम्बन्धित कम्पनीबाट नपाइरहेको अवस्थामा पिएसिसीका स्वयंसेवकहरु आवश्यक समन्वय र सहजीकरण गरेर उक्त रकम उपलब्ध गराउन सफल भएका छन्

२० जनालाई निःशुल्क हवाई टिकट

कोरोना भाइरसको कारण विदेशमा अलपत्र २० जना नेपालीहरुलाई पिएनसिसीले निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ । मलेसिया, साउदी अरब, कतारमा अति नै समस्यामा परेका कामविहीन नेपाली श्रमिकहरु, कम्पनीबाट भागेका, कम्पनी बन्द भएका र अनडकुमेन्टेड कामदारहरुलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।
यसैगरी ती मुलुकहरुमा समस्यामा परेका १ सय ३७ जना नेपाली श्रमिकहरुको सहजीकरणका लागि गैर आवासीय नेपाली संघलाई सिफारिस गरिएको कार्कीले जानकारी दिए । यो अवधिमा सम्बन्धित मुलुकहरुमा कार्यरत ३२ जना स्वयंसेवकहरुले २८ जना नेपालीहरुलाई सस्तोमा हवाई टिकट उपलब्ध गराउन सहजीकरण गरेका छन् ।
यसैगरी नेपाल फर्कन आवश्यक एक्जिट भिसा १ सय ५६ जनालाई प्रदान गरिएको छ भने १८ जना नेपाली श्रमिकलाई निःशुल्क पिसिआर परीक्षणका लागि पिएनसिसीले सहजीकरण गरेको थियो ।

शव व्यवस्थापन र बिरामीको रेखदेखमा सहयोग

कोरोना प्रभावको शुरुवाती दिनहरुबाट विभिन्न कारणले परदेशमै निधन भएका ३३ जना नेपाली श्रमिकहरुको शव नेपाल फर्काउन पिएनसिसीका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् । मृतकको बारेमा जानकारी लिने, दूतावास तथा परिवारलाई खबर गर्ने, कागजात संकलन गर्ने काममा पिएनसिसीका चार देशमा खटिएका स्वयंसेवकहरुले सहयोग गरेको र त्यसमा ६ जनाको सद्गत सम्बन्धित मुलुकमै गर्न पनि सहजीकरण गरेको बताइएको छ ।
कोरोनालगायत अन्य रोग र दुर्घटनामा परी अस्पतालमा उपचाररत ३९ जना नेपालीहरुलाई अस्पतालमै पुगेर पिएनसिसीका स्वयंसेवकहरुले रेखदेख र आवश्यक समन्वय गरेको रिपोर्टमा उल्लेख छ ।

खाद्यान्न तथा आवास सहयोग

कोरोना भाइरसको फैलावटले अस्तव्यस्त बनेका प्रवासी नेपालीहरुलाई मनोपरामर्श काउन्सिलिङ सहयोगका साथै खाद्यान्न र अस्थायी आवास सहयोग उपलब्ध गराइएको पिएनसिसीले जनाएको छ । यसमा सम्बन्धित मुलुकमा रहेका दूतावासहरु, एनआरएनए र अन्य नेपाली संघसंस्थाहरुले पनि सहकार्य गरेको रिपोर्टमा उल्लेख छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय ८३ जनालाई खाद्यान्न सहयोग वितरणमा पिएनसिसीले सहजीकरण गरेको थियो भने मलेसियालगायतका देशहरुमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबरजस्ती निकालिएका नेपालीहरुलाई आवास सुविधा पनि उपलब्ध गराएको थियो ।
पिएनसिसीले नेपाल फर्किएका पीडित नेपालीहरुलाई एयरपोर्टबाट पिकअप, काठमाडौंमा निःशुल्क आवास सुबिधा र आफ्नो घरसम्म पुग्न गाडीभाडा वापतको खर्च अहिलेसम्म पनि उपलब्ध गराउँदै आएको पिएनसिसीका रेस्क्यु व्यवस्थापक कमला अमात्यले जानकारी दिएकी छन् ।

जेलबाट मुक्त गर्न निरन्तर फलोअप

पिएनसिसीका स्वयंसेवकहरुले विभिन्न कारणले गन्तव्य मुलुकहरूमा जेल परेका नेपालीहरुको मुक्तिको लागि निरन्तर फलोअप गरेका थिए । यसका लागि परिवारका सदस्यलाई काठमाडौं बोलाई परराष्ट्र मन्त्रालयमा निवेदन दिन लगाउने, मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा रहेका दूतावासलाई जानकारी गराउने, सम्बन्धित देशहरुमा रहेका स्वयंसेवकहरुले दूतावासलाई नियमित फलोअप गर्ने कामको निरन्तरताका कारण यो ५ महिनाको अवधिमा चार श्रम गन्तव्य मुलुकहरुबाट २९ जना नेपाली जेलमुक्त भएर नेपाल फर्किसकेका छन् ।
यसैगरी सम्बन्धित मुलुकमा रहेका श्रम कार्यालयको सहयोगमा ९ जना नेपालीले पिएनसिसीको प्रत्यक्ष सहयोग पाएका छन् भने नेपाल फर्कने क्रममा सम्बन्धित कम्पनीको आवासबाट एयरपोर्टसम्म यातायात सुबिधा ८३ जनाले पिएनसिसीका स्वयंसेवकहरुबाट पाएका छन् ।
यसैबीच ९६ जना नेपाली श्रमिकहरुको पासपोर्ट नवीकरण गर्न पिएनसिसीका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् ।

परराष्ट्र सचिवद्वारा सराहना

परराष्ट्र मन्त्रालयमा सहसचिव हरिशचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा संचालित भर्चुअल विदाई कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका थानेस्वर भुसालले पिएनसिसीले कोरोना प्रभावित समयमा प्रवासी नेपालीहरुको सहयोगमा निर्वाह गरेको भूमिकाको सराहना गरेका थिए ।
प्रमुख अतिथि घिमिरेले पिएनसिसीको सहयोग र कार्य अनुभवले नेपाल सरकारको वैदेशिक रोजगारको नीतिनिर्माणमा सघाउ पुग्ने र स्वयंसेवकहरुले मानवीय सेवाको क्षेत्रमा अत्यन्तै उदाहरणीय काम गरेको बताए ।
प्रमुख अतिथि घिमिरेले कोरोना महामारीको मध्य दिनहरुमा प्रवासमा रहेका नेपाली दूतावासहरुको सम्पर्कमा रहेर राहत वितरण र घरफिर्तीका लागि सम्बन्धित देशहरुमा रहेका नेपाली समुदाय र पिएनसिसीका स्वयंसेवकहरुले निर्वाह गरेको भूमिकालाई परराष्ट्र मन्त्रालयले उच्च मुल्यांकन गरेको बताए ।
कार्यक्रममा सम्बन्धित मुलुकहरुमा रहेका स्वयंसेवक संयोजकहरुले आआफ्नो देशमा नेपालीहरुले भोगेका समस्याहरु र कामका अनुभवहरु आदानप्रदान गरेका थिए ।
हरेक देशमा रहेका आठ–आठ स्वयंसेवकहरुका संयोजकहरुमा कतारबाट बिल गुरुङ, साउदी अरबबाट धुर्व रिजाल, मलेसियाबाट ईश्वरकुमार राईले कोरोना प्रभावित दिनहरुमा नेपाली कामदारहरुको समस्या समाधानका सहजीकरण गर्दाका सहजता र असहजताबारे प्रकाश पारेका थिए ।
नेपाली दूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराई, नेपाली दूतावास मलेसियाका जनसम्पर्क अधिकारी टेकबहादुर बुढा, एनआरएनए कतार अध्यक्ष मुकत्दा आलम, राष्ट्रिय परियोजना संयोजक वसन्तकुमार कार्कीलगायतका अतिथिहरुको उपस्थितिमा भएको विदाई तथा सम्मान कार्यक्रमको सभापतित्व पिएनसिसी नेपालका अध्यक्ष कुलप्रसाद कार्कीले गरेका थिए भने कार्यक्रमको सन्चालन पिएनसिसीका निर्देशक सोमप्रसाद लामिछानेले गरेका थिए । कार्यक्रममा कार्यक्रम संचालक लामिछानेलगायत सबै अतिथिहरु र सरोकारवाला निकायहरुले चार देशहरुमा कार्यरत ३२ जना स्वयंसेवकहरुको सक्रियताको उच्च मूल्याङ्कन गर्दै कोभिड हिरोको उपमा दिएका थिए भने पिएनसिसीले सबैलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्