कुनै विशेष विषय नभएपनि आज मेरो कलम यसै छट्पटिएको छ । काँहीकतै केही नयाँ कुरा भेट्छु की भनी एकछिन सामाजिक सञ्जालमा रुमलिन्छु । केही नौलो कुरा नपाएपछि मेरो कलममा उम्लिएको मसीलाई आफ्नो कपीमा पोख्ने कोसिस गर्छु । यत्तिकैमा प्रतिपक्षले सरकारको खुट्टा तानेझैं मेरो कलमको खुट्टा तान्न मोबाइलमा रिङ बज्छ, सँगै म्यासेजको नोटिफिकेशन पनि तर, आज थाहा रहेनछ । न त प्रतिपक्षले खुट्टा तान्दा लच्कियो न त कसैको विरोधले डगमगायो, मेरो कलम एकनासले चलिरह्यो ।

शीर्षकले प्रष्ट्याउन खोजे पनि कति कौतुहल मन फेरि मेरो लेखमा विषयवस्तु र प्रसंग नै खोजिरहेका छन् । उही मानिसको मन त हो, आश त भइहाल्छ नि भनेझैं एकपछि अर्को दिग्दारलाग्दा वाक्यहरु जोडिँदा पनि अब त केही नौलो रस छ की भनी खोजी गर्ने यो मान्छेको मन पनि कस्तो ?

विषयवस्तु बेगर चलेको मेरो कलमलाई न त आफ्नो गन्तव्य नै थाहा थियो, न त आधारभूत लक्ष्यको नै पत्तो थियो । उही एउटा नेपाली युवाले खाडी मुलुकमा पाइला टेक्ने अघिल्लो रातमा आफ्नो मनमा अनेक कुरा खेलाएझैं मेरो कलमले नि एकपछि अर्को वाक्य खेलाइरह्यो । यता कलमका पाठकहरुको भने तिनै युवाको परिवारका झैं आशमाथि आशका चाङ लाग्दै थिए । देशमा युवाहरुको अवस्था भने सानो बेलामा हजुर आमाले सुनाएको नर्कवासीको कथाजस्तो लाग्न थाल्यो । यहाँ २१ डिग्रीमा छट्पटिएको मेरो कलमले ४० डिग्रीमा छट्पटिएका ती युवाको कति मर्म बुझ्ला र ओहो मेरो कलम त भावनामा पो बग्न थालेछ ।

यत्तिकैमा कलमको मुड परिवर्तन भयो । उसको नजर एक्कासी नेपालको राजनीतिमा गयो । राजनीति भनौं या नेपालको लाजमर्दो नीति । सुरुवातमै द्विविधाको खाल्डो उत्पन्न भयो । न त सोचेको जस्तो नाम, न त गफको जस्तो काम । नाम र काम बेगरको अनि दाम मात्रको खेलो राजनीति हो या लाजनीति । मेरो कलमलाई शब्द चयन गर्न मुश्किल पर्यो ।
एकाएक ब्यंग्यका तरंगहरु छल्किन थाले । अलि–अलि बलेको आगोमा पेट्रोल छर्किएर छोडेजस्तो भयो, मेरो कलम । एक निर्जिव वस्तुलाई त नेपालको राजनीतिदेखि यत्रो आक्रोश छ भने सम्झनुस् त नेपाली जनता, जसले आफ्नो देशप्रति देखेका सम्पूर्ण सपनाहरु कसैले पूरा गर्ला की भन्ने विश्वासले कसैलाई आफ्नो गाउँ, जिल्ला तथा राष्ट्रको प्रतिनिधि चयन गरेका थिए । विभिन्न आन्दोलन र चुनौतीहरुको सामना गर्दै चयन गरिएका अधिकाँश प्रतिनिधिहरुले यस्तो लत्तो छोड्दा जनताको पछुतो र आक्रोशको सीमा कहाँ पुगेको होला ?

दुईतिहाईको सरकार बन्यो । अब त देशमा केही होला की भनी आश बोकेका ती मनलाई एकाएक निराशाको बादलले छोपिदियो । आखिर यही हो राजनीति ? आउँदो नयाँ पिढीले राजनीतिलाई कसरी हेर्ने ? नेपालको परिवेशमा राजनीति शब्द आफैंमा एउटा फोहोरी र हाँस्यास्पद जस्तो बनिसकेको छ । आखिर देश हाँक्ने शब्दमा किन यस्तो कुरुपता ? एकपछि अर्को उत्तरविहीन प्रश्नहरु तेस्र्याउँदै छ मेरो कलम ।

यतिसम्म हुँदा पनि कोही झोले कार्यकर्ता भने उही दुई–चार हजार पैसा र दुई–चार छाक मासु भातमै बिकेर तिनै अवकाश लिने समयका नेताको पछि लागी सडक–सडकमा उत्रिएको देख्दा मेरो कलम निर्जिव वस्तुलाई समेत लाज लाग्छ ।

अब त अत्ति भएन र ? १० वर्षसम्म जनयुद्ध गरेर नेपाललाई सिंगापुर बनाउँछु भन्ने नेता नै आज माइती घरअघि बसेर सरकार विरुद्धको प्रदर्शनमा छन् रे । जब की त्यही सरकार चलाउने जिम्मा सम्पूर्ण जनताले उनीहरुकै हातमा थमाएका थिए । अहिले आएर सरकारको विरोध, आरोप–प्रत्यारोप गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरोले हान्नु जस्तै होईन र ? नाजुक अवस्था देख्दा मेरो कलमलाई आफ्नो माटोको माया लागेर आयो । अनि राजनीतिज्ञहरुप्रति दया जाग्यो ।
आखिर जनताले कहिले पो साथ दिएनन् र । राजा देश विकासका बाधक भए भन्दा राजा नै हटाए । चार वर्षमा बन्छ भनेको संविधान दश वर्षमा बन्दा पनि चुप लागेरै बसे । जंगल पसेका व्यक्तिलाई नेता बनाएर सिधै सिंहदरवारको गेटभित्र छिराए । पन्ध्र वर्षअघि देश परिवर्तनको नाममा आन्दोलन गर्न भनी सडकमा उत्रिएका कति युवा शहिद भए त कति अहिले पनि खाडीको चर्को घाममा पसिना बगाईरहेका छन् । माल पाएर चाल नपाएको भनेझैं नेपालजस्तो प्राकृतिक स्रोत साधनले भरिपूर्ण देशका नागरिकले राजनीतिक द्वन्द्वका कारण यो दुःख भोग्नुपरेको देख्दा मेरो कलमले तपक्क आँशु झार्यो ।

पटक–पटक एउटै अनुहारलाई सरकार चलाउने जिम्मा दिई केही गर्लान् की भनी विश्वास गरे । उही बालुवामा पानी हालेजस्तै भइरहेको छ । यतिसम्म हुँदा पनि कोही झोले कार्यकर्ता भने उही दुई–चार हजार पैसा र दुई–चार छाक मासु भातमै बिकेर तिनै अवकाश लिने समयका नेताको पछि लागी सडक–सडकमा उत्रिएको देख्दा मेरो कलम निर्जिव वस्तुलाई समेत लाज लाग्छ ।
नेपाली राजनीतिमा देखिने उतारचढाव र अविश्वासिला निर्णयहरु देख्दा नागरिकको मन भारी भएको छ । एक अर्कालाई आरोप प्रत्यारोप गरी विकासका कामहरुमा बाधक भए भन्ने चलन झन् मौलाएको छ । एउटाले भाषणका क्रममा बोलेका एक–एक शब्दलाई अर्कोले आलोचना गर्ने नेपाली राजनीति अहिले कुनै स्कूलमा आयोजना गरेको वादविवाद प्रतियोगिता जस्तै देख्दा मेरो कलमलाई निराशाको बादलले ढाक्छ र एकाएक शब्दका लहरहरु विहीन भई कलमको मसी नै सुक्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्