शिवसताक्षी , माघ ७ । सतासीधामको दुधेमा आयोजित एक कार्यक्रमका बीच मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभाव र त्यसको महत्वबारे छलफल गरिएको छ ।

सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा मौरीको विषयमा अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका खगेन्द्र तिम्सिनाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपालमा व्यावसायिक रुपमा मौरीपालन गरिएपनि मौरीले उत्पादन गरेका बहुमूल्य औषधीजन्य वस्तुलाई चिन्न नसकेका कारण पर्याप्त लाभ लिन नसकेको निष्कर्ष निकालिएको थियो ।

छलफलमा मानव जीवनमा मौरीको भूमिका, मौरीको प्रकृतिसंगको सम्बन्ध र जीवनचक्र, महका अतिरिक्त बहुमूल्य वस्तुका रुपमा रहेको रोयल जेली (शाही खाना), चोपलगायतका विषयमा छलफल भएको थियो ।
सतासी महिला मौरीपालन सहकारी संस्थाका अध्यक्ष धनमाया थापाको अध्यक्षता तथा खगेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माइवेनी कृषि सहकारी संस्थाका अध्यक्ष रोहिता भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । सताक्षी मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय मौरीपालक महिलाहरुको उपस्थिति रहेको थियो । हाल सो क्षेत्रका ३२० घरमा व्यावसायिक मौरीपालन हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्