राजगढ , माघ ८ । ठेकेदारको लापरवाहीका कारण मोटरसाइकल दुर्घटनामा परी राजगढमा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

दुर्घटनापछि क्लिनिकअगाडि जम्मा भएको भीड

चारपाने–चैतुबारी –मतिगडा–राजगढसम्मको १६.२ किलोमिटर सडक निर्माणको ठेक्का लिएका ठेकेदारले बीच सडकमा खनेको खाल्डोमा परी मे ७ प ७९६७ नम्बरको मोटरसाइकलका चालक कचनकवल १ बस्ने ३२ वर्षिय नन्दलाल राजवंशीको मृत्यु भएको हो । हिजो साँझ ६.४० बजे बाह्रदशी ३ स्थित बाह्रदशी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको सो मोटरसाइकल खाल्डोमा परी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक कचनकवल १ बस्ने नन्दलाल राजवंशी र पछाडि सवार सोही ठाउँका २५ वर्षिय कोकिल राजवंशीलाई उपचारको लागि पदम क्लिनिक राजगढ लगिएकोमा क्लिनिकमा पुर्याउँदा चालकको मृत्यु भएको थियो । पछाडि सवार कोकिललाई सामान्य उपचारपश्चात् थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा त्यहाँबाट ओम साइ पाथीभरा भद्रपुर रेफर गरिएको छ । निर्माणाधिन सो सडकमा ठेकेदारले कुनै पनि साइनबोर्ड नराखी खाल्डो खनेको र गिटीको थुप्रो बनाएको बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए । सावधान नगराईकन बाटोमा खाल्डो खन्नु ठेकेदारको लापरवाही भएको भन्दै पीडित परिवारले क्षतिपूर्ति माग गरेको राजवंशीले बताए । त्यस विषयमा इलाका प्रहरी कार्यालय राजगढमा छलफल भइरहेको उनले जानकारी दिए । सो सडक बिर्तामोडका केदार गिरीले ठेक्का लिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्