झापा , माघ ८ । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पुनः गणेश ढकाल निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा अरुले दावी नगरेपछि ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा पुनः महेन्द्रकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष ढकाल पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था र वरिष्ठ उपाध्यक्ष गिरी सहारा नेपाल साकोसबाट प्रतिनिधित्व गर्छन् ।

त्यस्तै उम्मेदवारको दाबी विरोधपछिको नामावली प्रकाशन विवरण अनुसार सचिव, सहसचिव, लेखा समिति संयोजक र केही क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका भवानीप्रसाद दंगाल र सहसचिवमा जयनेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका कृष्णप्रसाद मिश्र निर्विरोध भएका हुन् । त्यस्तै संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था दमकका चूडामणि ओझा निर्विरोध निर्वाचित भएका छन् ।

सबै पदहरु निर्विरोध नभएमा माघ १७ गते मतदानमार्फत् संघको नेतृत्व चयन गर्नुपर्ने भएको छ । संशोधित विधानअनुसार संघमा १९ सदस्यीय सञ्चालक र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने संघका अधिकृत संजय ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्