झापा , माघ ९ । झापामा लागु औषध प्रयोगकर्ता र कारोवारी धमाधम पक्राउ पर्ने क्रममा फेरि तीनजना पक्राउ परेका छन् ।

दमकमा दुईजना र मेचीनगरमा एकजना पक्राउ परेका हुन् । हिजो साँझ ६ बजे दमक नगरपालिका वडा नं. ८ सेतुमारी रोडमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा को २१ प १०३ न.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका वडा नं. २ बस्ने २१ वर्षिय कनैया गनगाईले शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर ३६ ग्राम, नगद ४ हजार ७००,मोबाईल २ थानसहित बरामद गरेको हो । सोही मोटरसाईकलको पछाडी सवार रतुवामाई नगरपालिका वडा नं. ८ बस्ने २० वर्षिय राजकुमार गनगाई समेतलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची पुलमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा मोरङ उर्लावारी नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षिय सुजन परियारलाई लागु औषधसहित पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल, डाइजेपाम १० एम्पुल गरी जम्मा ३० एम्पुल लागु औषध बरामद गरी उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।