काँकरभिट्टा , माघ ९ । नियमितरुपमा विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई कोभिड–१९ को जोखिमबाट जोगाउने उद्देश्यअनुरुप एक गैरसरकारी संस्थाले शुक्रबार स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बाल जागरण मञ्च नेपाल नामक संस्थाले मेचीनगर–६ नम्बर वडा कार्यालयको समन्वयमा कोरोना महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री काँकरभिट्टा माविलाई हस्तान्तरण गरेको हो । मञ्चका कोषाध्यक्ष विष्णु श्रेष्ठका अनुसार एक हजार थान एन नाइन्टी फाइभ मास्क, एकहजार थान सर्जिकल मास्क, ५० लिटर सेनिटाइजर, एकथान थर्मल गन र ३५ वटा ह्याण्ड स्प्रे प्रदान गरिएको छ ।
त्यसक्रममा विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौला, शिक्षक–अभिभावक संघका अध्यक्ष मुक्ति पौडेल, विद्यालयका रेडक्रस संयोजक शिक्षक अमर परियारलगायतले मञ्चलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा वक्ताहरुले विद्यालयमा नियमित पढाइ भइरहँदा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकोमा मञ्चप्रति आभार प्रकट गर्दै कोभिड–१९ को जोखिम कम गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘बालबालिकाहरुका लागि तालिम सञ्चालन गर्न वडासँग बजेट सम्झौता गरेका थियौं’ ती सामग्री हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष मणिकुमार लिम्बूले भने–‘अहिले स्वास्थ्य नै प्राथमिकताको विषय हो, त्यसैले सोही रकमबाट स्वास्थ्य सामग्री जुटाएका हौं ।’
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, विद्यालयस्तरीय बाल क्लबका संरक्षक शिक्षक तुलसीप्रसाद सापकोटालगायतको आतिथ्यता थियो भने विद्यालयमा रहेको बाल क्लब, स्काउट र रेडक्रस सर्कलका विद्यार्थीहरु सहभागी थिए ।

मञ्चले यसअघि पनि उक्त विद्यालयलाई शैक्षिक तथा खेलकुद सम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गर्दै आएको मञ्चका सदस्य युवराज बजगाईंले जानकारी दिए ।
मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सहसचिव युवराज दाहाल र सञ्चालन मञ्चका सचिव एवँ सो विद्यालयका शिक्षक मदन अधिकारीले गरेका थिए ।
‘बाल अधिकारका कुरा, मिलेर गरौं पूरा’ भन्ने मूल नारासहित २०७० सालमा स्थापना भएको मञ्चले ७ वर्षे अवधिमा विद्यालयहरुमा बाल क्लब गठन गर्दै बालअधिकारसम्बन्धी तालिमलगायत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्