बिर्तामोड , माघ १० । बिर्तामोड ३ र १० मा मुसहरहरुको बसोबास रहेको दुई शताब्दीभन्दा बढी भइसक्यो । तीन–चार पुस्तादेखि उनीहरु बसोबासित छन् । यहाँका पुराना बासिन्दा भएपनि उनीहरुमध्ये अधिकांशले नागरिकता पाएका छैनन् ।

नागरिकताका लागि चाहिने कागजात देखाउँदै

सैनिकमोडदेखि सैनिकबजार जाने ठाडो बाटोको छेवैमा विराटपोखरमा रहेको मुसहर वस्ती अहिलेको होइन । अरु बसोबासीभन्दा पुराना बासिन्दा भएपनि सोझासिधा मुसहरहरुले अझै नागरिकता प्रमाणपत्र पाउन सकेका छैनन् ।

बिर्तामोड ३ स्थित अन्धुवा खोलाको बगरमा रहेको मुसहर बस्तीका विनोद ऋषिदेव उमेरले ३५ कटिसके । यही जन्मिएर हुर्केका उनका दुई छोराछोरी छन् । उनका बुवा सहदेव ऋषिदेव र हजुरबुवा बाबुलाल ऋषिदेव पनि यही जन्मिएर यहीकै माटोमा विलीन भए । तीन पुस्तादेखि बसोबास देखिएपनि विनोदको परिवारका कुनै पनि सदस्यले नागरिकता पाएका छैनन् । बुवा र हजुरबुवाले नागरिकता नपाइकन प्राण त्याग्नु पर्यो । अहिलेका पुस्ताका विनोद , उनका भाइहरु मनोज , राजु , दिदीहरु पूर्णी , सोना कसैले पनि नागरिकता पाउन सकेका छैनन् । श्रीमान्ले नपाएपछि विनोदकी श्रीमती दिलकुमारी पनि नागरिकता लिनबाट वञ्चित भएकी छन् । मनु ऋषिदेवसँग विवाह गरेर नातिनातिना भइसकेकी पूर्णीका श्रीमान् , छोराछोरी सबैको नागरिकता छ । तर, उनले धेरै प्रयास गर्दा पनि नागरिकता पाउन सकिनन् ।

त्यस्तै उमेरले ४० पुगेकी सुशिला ऋषिदेव ‘हिरिया’ को परिवार पनि त्यस ठाउँमा बसेको तीन पुस्ता भइसक्यो । घुरन दासकी नातिनी , मखनाकी छोरी सुशिलाका छोराछोरी र बुहारी सबै साबालक छन् । आमा बुवाले नपाएपछि छोराछोरी र बुहारी पनि नागरिकताविहीन बनेका छन् । सुशिलासँगै उनका श्रीमान् राजेन्द्र , छोरा सुरज , बुहारी रीता कसैले पनि नागरिकता पाएका छैनन् । सुशिलाका श्रीमान् राजेन्द्र पनि यही जन्मेका हुन् । त्यसैगरी शनिचरी ऋषिदेवका ६ जनाको परिवारमा समेत कसैले पनि नागरिकता पाउन सकेका छैनन् । शनिचरी , उनका श्रीमान् मेघुवा , छोरा संजय र बुहारी सविनाले नागरिकता पाउन नसकेका हुन् । बिर्तामोड ३ मा मुसहरहरुको ९ घर रहेको छ । त्यसमा १९ जना साबालक छन् । त्यसमध्ये ११ जनाले नागरिकता पाउन सकेका छैनन् भने ७ जनाले मात्र नागरिकता पाएका छन् ।

त्यसैगरी बिर्तामोड १० मा रहेको पुरानो मुसहर वस्तीका मुसहरहरुको समस्या पनि त्यस्तै छ । ११ घर रहेको त्यस बस्तीका आधाभन्दा बढी मुसहरहरुले नागरिकता पाएका छैनन् । नातिनातिना भइसकेकी सिताराम ऋषिदेवकी श्रीमती विमलाले अझै नागरिकता पाउन सकेकी छैनन् । त्यस्तै एक दर्जन नातिनातिना र पनाति पनातिना भइसकेकी ७० वर्षिया राधिका ऋषिदेव पनि अझै अनागरिक नै रहेकी छन् । त्यस टोलमा बस्ने सोना ऋषिदेव र उनका श्रीमान् अजय मगर पनि अनागरिक नै छन् । लक्षे ऋषिदेव , सुनिता ऋषिदेव , जाशो ऋषिदेव , शत्रुधन चौधरी , भरत चौधरी , लीला ऋषिदेव , शितली ऋषिदेव , लक्ष्मी राजवंशी ऋषिदेव , संजय ऋषिदेवले पनि नागरिकता प्रमाणपत्र हेर्न पाएका छैनन् ।

नागरिकता प्रमाणपत्रका लागि मुसहरहरुले गुहारेको निकै भयो । तर , उनीहरुले सहयोग पाएका छैनन् । आफूले नागरिकता प्रमाणपत्रका लागि निकै प्रयास गरेपनि अहिलेसम्म नपाएको विनोद ऋषिदेवले गुनासो गरे । ‘बसोबास र हामीसँग भएका प्रमाणलाई आधार मानेर नागरिकता दिँदा के हुन्छ र ?’ उनले प्रश्न गरे, ‘ मुसहरहरुले सधै अनागरिक नै बस्नु पर्ने ?’ गरिवी , अशिक्षासँगै जनचेतनाको अभावका कारण पनि मुसहरहरुले नागरिकता पाउन नसकेका हुन् । कतिपयले चासो लिएपनि धेरैले खोजी गरेका छैनन् । संजय ऋषिदेवका बुवा बच्चु मुसहरको नागरिकता थियो । नागरिकता भएका बुवाको मृत्युपछि त्यसैलाई आधार मानेर उनले नागरिकता बनाउन सक्छन् । तर , उनले त्यसबारे चासो नै लिएका छैनन् । उनीजस्तै धेरैले नागरिकतालगायत घटना दर्ताका बारेमा चासो नलिएको मुसहरहरुलाई सहयोग गर्दै आएका पत्रकार इन्द्रसिंह राजवंशी बताउँछन् । उनले आफ्नो जग्गामा तीन पुस्तादेखि बसेका सुशिला ऋषिदेव हिरियाको परिवारले अझै नागरिकता नपाउनु र नबनाउनु दुर्भाग्य भएको बताए ।

नागरिकताविहीन मुसहरहरुलाई नागरिक बनाउनका लागि अभियानको खाँचो भएको उनले औंल्याए । ‘ नागरिकताको महत्वका बारेमा उनीहरुलाई बुझाउन सक्नु पर्छ’ पत्रकार राजवंशीले भने ,‘ अरुले सहयोग नगरेसम्म उनीहरुको नागरिकता बन्दैन ।’ नागरिकता नहुँदा राज्यको सेवा सुविधाबाट उनीहरु वञ्चित हुनु परिरहेको छ । बिर्तामोड नगरपालिकाको आवास कार्यक्रममा नागरिकता नभएकै कारण कतिपयले घर पाएनन् । त्यस्तै अन्य सेवासुविधा पनि आफूहरुले नपाएको विनोदले बताए । नागरिकता नहुनेहरुका लागि सम्बन्धित वडा कार्यालय बिर्तामोड ३ र १० लाई पहल गरिदिन उनले आग्रह गरेका छन् । गत वर्ष संवाद समूहले ती दुई मुसहर वस्तीमा सर्वेक्षण गरेको थियो । त्यसक्रममा अन्य समस्यासँगै नागरिकताको समस्या विकराल रुपमा रहेको प्रतिवेदनले देखाएको थियो । सो प्रतिवेदन दुवै वडा कार्यालयहरुलाई बुझाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्