झापा , माघ १० । हतियारसहित सडकमा आएका विप्लव नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै शनिबार झापामा यात्रुबाहक बस तोडफोड गरेका छन् ।

उनीहरूले काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको बा४ख ८८९७ नम्बरको यात्रुबाहक बसलाई रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विप्लव कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिकाको किराँत चोकमा सो बसलाई रोकेर तोडफोड गरेका हुन् ।
उनीहरूले बसलाई रोकेर सिसा तोडफोड गरेपछि बसको सिट काटेर पेट्रोल छर्किँदै आगो लगाउने प्रयास समेत गरेको बसमा सवार यात्रुहरूले बताएका छन् ।

यसैबीच, प्रहरीले घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । तर, पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।
आफ्नो पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित पक्राउ परेका अन्य नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेकपाले शनिबार नेपाल बन्दको आह्वान गरेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्