धुलाबारी , माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनियोजित तरिकाले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षधरले शनिबार धुलाबारीमा आयोजना गरेको नगरस्तरीय भेलालाई सम्बोधन गर्नेक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
‘ओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटीरुपमा आफूखुशी मनपरी गर्न थाले’ पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले भने–‘त्यसैको परिणामस्वरुप अहिले यो अवस्था आएको हो ।’
पार्टी एकता र त्यसपछि भएका सहमति र सम्झौतालाई लत्याएर ओली सत्ताको अतृप्त भोगमा लिप्त भएकै कारण देश र जनताले यो नियति व्यहोर्नुपरेको नेता पाण्डेको आरोप थियो ।

केपी ओली नेतृत्व असक्षम र गैरजिम्मेवार ढंगले अघि बढेका कारण चाँडै विलय हुने ठोकुवा गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले ओली नेतृत्वको सरकारबाट समृद्धि सम्भव नरहेको जिकिर गरे । नेकपाभित्र देखिएको अन्तरविरोधले पार्टी तथा जनसंगठन प्रभावित भइरहेका बेला पार्टीका केन्द्रीय सदस्य राम कार्की (पार्थ) ले जित सधैं सत्यकै पक्षमा हुने भन्दै अहिले नै निराश नहुन आफ्ना नेता कार्यकर्ताहरुलाई सान्त्वना दिए ।
‘ओलीले घुँडा नटेकेसम्म संविधान र लोकतन्त्रको रक्षा हुँदै हुँदैन, यसको रक्षाका लागि सबै सधैं निरन्तर एकताबद्ध भई जुट्नुको विकल्प छैन’ पूर्व सञ्चारमन्त्री समेत रहेका उनले भने–‘ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरे, उनको पराजय निश्चित छ ।’
सम्बोधनका क्रममा उक्त समूहका झापा संघर्ष समिति संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने चेतावनी दिए ।

सभामा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, अनेरास्ववियू जिल्ला सहसंयोजक दुर्गा धमलालगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज भाष्कर काफ्ले, जिल्ला कमिटी सदस्यहरु अर्जुन पौडेल, सन्तोष आचार्य, शंकर थापा, लालबहादुर थामी, संविधानसभा सदस्य चन्द्रलाल मेचे, अनेरास्ववियू जिल्ला संयोजक अनिल सुवेदीलगायतको आतिथ्यता थियो ।
नेकपा १ नं. प्रदेश कमिटी सदस्य तथा क्षेत्रीय इञ्चार्ज श्यामवीर लिम्बू (सौभाग्य)को अध्यक्षतामा भएको विरोध सभामा स्वागत राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य राजु धिमाल र सञ्चालन नेकपा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वले गरेको संसद् विघटन विरुद्ध भएको विरोध सभाअघि आयोजित र्यालीमा झण्डै एक हजारजना स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको नेकपाका जिल्ला सदस्य शंकर थापाले बताए ।
यसअघि प्रचण्ड–नेपाल समूहमा रहेका झापाका नेताहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली नेकपाको ओली पक्षमा गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्