दुहागढी , माघ ११ । वि.सं.२०२४ सालमा स्थापना भई पछिल्लो समय निमावि तहसम्म पढाई हुँदै आएको बाल सुबोधिनी विद्यालयले मावि तहको कक्षा सुरु गरेको छ ।

सामुदायिक विद्यालयतर्फ पूर्वक्षेत्रमा उदाहरणीय मानिने उक्त विद्यालयले पठनपाठन सुरु गरेको ५३ वर्षपछि माविको पढाई थालेको हो ।
चालु शैक्षिक सत्र–२०७७ बाट कक्षा ९ को नियमित कक्षा सञ्चालन गर्दै आएको उक्त विद्यालयमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मावि तहको उद्घाटन गरे ।
विद्यालय परिसरमा आइतबार आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि आचार्यले स्तम्भ बोर्डको अनावरण गरी सो तहको विधिवत् शुभारम्भ गरेका हुन् ।

सोही विद्यालयमा अध्यापनरत् शिक्षिका कमला कार्कीले पितृहरुको स्मृतिमा ८० हजार रुपैयाँ लगानी गरी उक्त बोर्डको निर्माण गरेकी थिईन् ।
‘चालु शैक्षिक सत्रबाटै कक्षा ९ को पढाई सुरु गरेका थियौं, नियमित पढाई हुन थालेको एक महिना भयो’ प्रधानाध्यापक विश्व थापाले भने–‘कोरोनाका कारण उद्घाटन हुन मात्र बाँकी थियो ।’
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेती, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, मेचीनगर १४ का वडा अध्यक्ष शंकर पोखरेल, कार्यपालिका सदस्य विन्दा प्रसाईं, रेडक्रस झापा शाखा सभापति लोकराज ढकाललगायतको आतिथ्यता थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत व्यवस्थापन समिति सदस्य मुनिलाल राजवंशी र सञ्चालन प्रधानाध्यापक विश्व थापाले गरेका थिए ।
आगामी शैक्षिक सत्रबाट कक्षा १० को पढाई थालनी गर्ने विद्यालयले योजना बनाएको छ । सो विद्यालयले एक महिनायता नियमितरुपमा सञ्चालन गर्दै आएको कक्षा ९ मा हाल ५५ जना विद्यार्थी अध्ययनरत् छन् ।
मावि तहमा अध्ययन अध्यापन प्रारम्भ भएसँगै अब बाल सुबोधिनी सामुदायिक विद्यालयतर्फ मेचीनगर–१४ कै पहिलो मावि बनेको छ ।

बाल विकासदेखि कक्षा ९ सम्म पढाई भइरहेको उक्त विद्यालयमा मेचीनगर १३ र १४ का गरी ४ सय ५१ जना विद्यार्थी पढ्दै आएका छन् ।
सरकारले ‘एक वडा, एक सामुदायिक मावि’ को नीति ल्याए पनि मेचीनगरको १४ नम्बर वडाले भने भर्खरै मात्र माविको सम्बन्धन पाएको छ ।
मेचीनगरका अन्य वडामा सामुदायिक मावि सञ्चालन हुँदै आए पनि वडा नम्बर ७ मा भने अझै माविको पठनपाठन सुरु भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्