भद्रपुर , माघ १३ । झापा भद्रपुरको पृथ्वीनगरमा परम्परादेखि लाग्दै आएको ऐतिहासिक एवं धार्मिक किचकबध मेला यस वर्ष नलाग्ने भएको छ ।

कोरोना महामारीको संक्रमण नसकिएकाले मेला नलगाइने भएको हो । हरेक वर्षको स्वस्थानी पूर्णिमाका दिन त्यहाँ मेला लाग्ने गरेको छ । यस वर्ष फागुन १५ गते स्वस्थानी पूर्णिमा परेको छ । सरकारले अत्यधिक भीडभाड नगर्न निर्देशन दिएअनुसार यस वर्ष किचकबध मेला नलगाइने किचकबध ऐतिहासिक , धार्मिक एवं पर्यकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए । उनले यस वर्ष मेलाको लागि ठेक्का पनि लगाउने जानकारी दिए ।गत वर्ष १ लाख रुपैयाँमा ठेक्का लागेको थियो । रमाइलो मेला नलगाएपनि धार्मिक उद्धेश्यले भक्तालुहरुलाई आउन रोकटोक नहुने उनले जानकारी दिए ।
महाभारतकालीन इतिहाससँग जोडिएको किचकबध धार्मिक मेलामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । झापाको भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलमा प्रत्येक वर्ष माघे शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रतको समापनका दिन धार्मिक मेला लाग्ने गरेको छ ।
किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा नुहाउँदा इच्छाएको मनकामना पूरा हुने गरेको धार्मिक विश्वास छ ।भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक चलन रहेको छ । मेलामा गएका श्रद्धालु तथा भक्तजनले भीमसेनले किचकलाई वध गरेको मूर्तिमा पूजाआर्चना समेत गर्छन्। वर्षमा एक पटक लाग्ने यस मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन आउने गरेको किचकबध संरक्षण समितिका अध्यक्ष थेबेले बताए । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले त्यही ठाउँमा मुड्क्याएर मारेका थिए । सोही कथावस्तुलाई आधार मानेर त्यस ठाउँको नाम किचकबध नामकरण गरिएको हो।