ईटाभट्टा , माघ १३ । मेचीनगर–८ स्थित शिवालय कालि–कृष्ण मन्दिरले आफ्नो प्रथम वार्षिक साधारणसभाको सन्दर्भ पारेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सूर्योदय टोलमा अवस्थित मन्दिर परिसरमा मंगलवार आयोजित उक्त सभामा स्थानीय १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सभाको उद्घाटन गरेपछि प्रदेश सांसद् श्रीप्रसाद मैनालीले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसक्रममा प्रमुख अतिथि मैनालीले वृद्धवृद्धालाई ‘ज्यूँदो इतिहास’ को रुपमा अथ्र्याउँदै यो अनुकरणीय कार्यको प्रशंसासहित मन्दिर व्यवस्थापन समितिप्रति आभार प्रकट गरे ।
सो अवसरमा उनले मन्दिरको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जातीय तथा धार्मिक दृष्टिले मेचीनगर वडा नम्बर ८ समृद्ध रहेको चर्चा गरे ।
‘धर्म, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन्’ मैनालीले भने–‘धार्मिक सम्पदाको संरक्षण र सम्र्वधन गर्न सबैपक्ष जुट्नुपर्छ ।’
सभाको खुल्ला सत्रमा विशिष्ट अतिथि मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमालले वडाका सबै धर्म र संस्कृतिको जगेर्नाका लागि आवश्यक सहयोग गरिरहेको बताए । उनले शिवालय कालि–कृष्ण मन्दिरलाई सामुदायिक भवन बनाउन वडा कार्यालयको तर्फबाट तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए ।

सो अवसरमा नेकपाका नेता तथा जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्षहरु डिल्लीराम घिमिरे र शंकर थापा, नेकपा मेचीनगर–८ का सचिव विष्णु भट्टराई, नेपाली काँग्रेस मेचीनगर–८ का सभापति गिरीराज धमलालगायतले बोलेका थिए ।
सोही अवसरमा मन्दिर व्यवस्थापनका लागि भन्दै सहयोगस्वरुप अतिथि शंकर थापाले नगद ११ हजार र विष्णु भट्टराईले ५ हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष मीना राजवंशीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सल्लाहकार रेवन्तराज पोखरेल(अर्जुन)ले स्वागतसहित सञ्चालन गरेका थिए ।