दमक,माघ १३ । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ का राजकुमार ताजपुरिया आफ्ना ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर फरार भएका छन् ।

गत बर्ष मंसिरमा झापा, मेचीनगर इटाभट्टा घर भएकी सानीमा सासु पर्ने एक महिलामार्फत २ लाख ७५ हजार रुपैयाँ घर बनाउन भन्दै रकम लिएर उनी फरार भएका हुन् । फरार भएपछि ताजपुरियाको दुई नावालक छोरासहित श्रीमती सुनिता विचल्लीमा परेका छन् ।
उनले श्रीमती सुनिता धिमाल ताजपुरियासंगै ससुराली घर कमल ६ मंगलबारे आएर ससुरालीसँग घर बनाउने पैसा मागेका थिए । ससुरालीले आफूहरुसंग पैसा नभएको र सानीमासंग माग्न सकिने बताएपछि ती दम्पत्ती मेचीनगरको इटाभट्टास्थित सानीमाको घर गएका थिए । सानीमाको घरबाट पैसा लिएर आएको एक हप्तापछि राजकुमारले श्रीमती सुनितामाथि गाली गलौज, कुटपिट गर्ने गरेको र असुरक्षित महसुस गरेपछि उनी माइतीघर आएकी थिइन् । आफ्नो श्रीमान्वाट धेरैपटक त्यस्तो यातना पाएको उनले सुनाईन् । उनले भनिन्,–‘कहिले वडा कार्यालय कहिले गाउँमै उजुरी गरिएपनि पटकपटक त्यही दुव्र्यवहार सहनुपरेको छ’

त्यसैवेला राजकुमारले छिमेकी टोलकी रुम्जनी ताजपुरियालाई लिएर एकाएक फरार भएको पीडित सुनिताले बताइन् । त्यसरी फरार भएका उनी श्रीमतीको सम्पर्कमा छैनन् ।
अहिले सानीमाले पैसाका लागि ताकेता गरिरहेको , श्रीमान्ले आफैंलाई छोडेर फरार भएको कारण आफू पीडित भएको सुनिताले पत्रकारहरु माझ सुनाएकी छिन् । कान्छी श्रीमती लिएर फरार भएका राजकुमारलाई घर परिवारले संरक्षण गरेर लुकाएको र स्थानीय प्रहरीमा निवेदन दिँदा समेत सुनुवाई नगरेको सुनिताको गुनासो छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जमा निवदेन दिएको वर्ष दिन भईसक्यो प्रहरीले खोजतलासमा खासै चासो नदिएको पीडित सुनिताको भनाई छ । प्रहरीमा कुरा गर्दा काम गरिरहेका छौं भनेर आलटाल गर्दैआएको पीडित परिवारको आरोप छ । पीडितकी आमाले भनिन्, –‘वर्ष दिनमा पनि एक जना फरार मान्छे पक्राउ नपर्दा झनै पीडित बन्नुपरेको छ ’ ताजपुरियाका ६ बर्षिय छोरा आकाश र ३ बर्षिय छोरा विकास छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्