बिर्तामोड , माघ १४ । सन् २०१५ मा स्थापित ड्रिम्स ग्रुप अफ कम्पनीले टिफिन बक्स ‘खाजा’ सेवाको औपचारिक सुरुवात गरेको छ ।

सो कम्पनीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बिर्तामोडबाट उक्त सेवा विधिवत्रुपमा प्रारम्भ गरिएको जनाएको हो ।
निकट भविष्यमा यो सेवा जिल्लाभर विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । व्यस्त मानव जीवनशैलीलाई मध्यनजर गरेर समयको बचतसँगै गुणस्तरीय खाजा उपलब्ध गराउने योजना कम्पनी छ ।

विशेषगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, विद्यालयका कर्मचारीवर्ग एवँ व्यवसायीलाई सुविधा पुर्याउन यस्तो अवधारणा अघि सारिएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘न्यूनतम ५० रुपैयाँमा हामी स्वच्छ खाजा उपलब्ध गराउने छौं’ कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले भने–‘हामीले तयार गर्ने खाजाका परिकार स्तरीय र स्वस्थकर हुनेछन् ।’
सबै वर्गका लागि उपयोगी हुनेगरी प्रारम्भ गरिएको यो सेवा प्रभावकारी हुने र आम उपभोक्ता सन्तुष्ट हुने विश्वास कम्पनीले लिएको छ ।
‘पहिलो चरणमा डेढ सयभन्दा बढी सेवाग्राहीसँग सम्झौता भएको छ, सेवा प्रवाहलाई क्रमशः बढाउँदै जानेछौं’ कम्पनीका कार्यकारी निर्देशक सरोज खरेल भन्छन्–‘अहिलेसम्म ३० वटा संघसंस्थासँग सम्झौता गरेका छौं ।’

उनका अनुसार यो सेवाबारे बिर्तामोड क्षेत्रबाहिरका अन्य विद्यालय र सहकारीहरुसँग समेत कुराकानी भइरहेको छ । बिर्तामोडबाट सुरु गरिएको यो सेवा पहिलो चरणमा मेचीनगर, भद्रपुर, कनकाई, अर्जुनधारा र बुद्धशान्तिमा पुर्याइने बताइएको छ ।
पूर्वी नेपालमै पहिलोपटक यो सेवा सञ्चालनमा आएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्