धुलावारी, माघ १६ । उबेला पूर्वको ‘हङकङ मार्केट’ भनेर चिनिने अहिलेको धुलावारी बजारको परिकल्पनाकार हुन्–रोशनलाल अग्रवाल (वर्ष ७७) ।

ओझेलका पात्र उनी धुलावारीको पछिल्लो पुस्तामाझ परिचित नहुन पनि सक्छन् । त्यसबेला बजारै नभएको धुलावारीमा व्यापार थाल्ने पहिलो व्यक्ति उनै रोशनलाल थिए । सुन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ तर, यथार्थ यही नै हो ।
१० वर्षको कलिलै उमेरमा रोशनलाल पातलो बस्ती, कम जनघनत्व भएको उराठलाग्दो धुलाबारी आएका थिए, बुवाआमाको पछि–पछि लागेर । वि.स. २०११ सालमा धरान छाडेर व्यापार गर्न भनी उनी धुलावारी आएका हुन् ।
त्यतिखेर धुलावारी बस्ने केही व्यक्तिले अग्रवालाई ‘धुलावारी विकट छ, व्यापारी नै छैनन्, यस्तो ठाउँमा पनि व्यापार हुन्छ र ?, को आउलान् र किन्न ?’ पनि भनेछन् ।
तर, योसबै सुन्दासुन्दै पनि एकदिन त कसो नहोला र ? भन्ने आश मन–मनै पलायो उनमा । र, त्यही हिम्मतकै कारण धरानबाट कपडा ल्याएर बेच्न थाले रोशनलालले । अहिले उनै व्यक्ति धुलाबारी बजारको ज्यूँदो साक्षी बनेर उभिइरहेका छन् ।

त्यो बेलाको सुनसान धुलावारीका एक्ला व्यापारी रोशनलाल धुलावारी बजारको पर्याय मात्रै बनेनन्, ज्यूँदो इतिहास समेत बन्नपुगे । उनले व्यापार थालेसँगै धुलावारीमा अन्यत्रबाट पनि व्यापारीहरु थपिने क्रम बढ्न थाल्यो र, व्यापारिक चहलपहल पनि क्रमशः बढ्दै गयो ।
व्यापारीको संख्यामा वृद्धि हुन थालेपछि किन्नेहरु पनि बढे र विरक्तलाग्दो धुलाबारीले विस्तारै बजारको रुप धारण गर्यो । त्यसपछि चकमन्न धुलाबारीले एउटा सानोतिनो बजारको आकार लियो ।
एक्लो आँटले पसल थालेका अग्रवाललाई व्यापारी र कारोवार दुवै बढ्दा व्यापार गर्न थप जोश र जाँगर मिल्यो र, व्यापारलाई अझ फराकिलो पार्दै अघि बढे । व्यावसायिक कारोवारले गति लिन थालेपछि नेशनल टे«डिङको पहलमा २०३१ सालतिर धुलावारीमा ‘फोरेन गुड्स’ बजार स्थापना भएको रोशनलाल सम्झिन्छन् । व्यापार÷व्यवसायमा मारवाडी समुदायका व्यक्तिले दख्खल राख्छन् भन्ने भनाईलाई रोशनलालले पुष्टि गरिदिएका छन् । उनले आफ्नो पुख्र्यौली पेशालाई सफलतापूर्वक अगाडि बढाउँदै गए ।

व्यापारसँगै रोशनलाल धुलाबारीलाई कसरी स्थापित गर्न सकिन्छ भनेर चिन्तित हुन्थे । व्यवसायसँगै अहिलेको सुविधासम्पन्न धुलाबारी बनाउन उनले जीवनको ऊर्जाशील उमेर र समय खर्चिएका छन् ।
सामाजिक संघसंस्था र जनप्रतिनिधिको जिम्मेवारीमा रहेर धुलाबारीको विकास र उन्नयनमा उनले अविष्मरणीय योगदान पुर्याएका छन् । २०३६ सालमा झापा वाणिज्य संघ धुलावारीको सदस्य बनेका उनले धुलावारीका व्यापारीको हक अधिकारका लागि संघमा रहेर महत्वपूर्ण काम गरेका थिए । अग्रवाल २०४४ सालमा धुलावारी गाउँ पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए ।
प्रजातन्त्र प्राप्तिपछिको पहिलो स्थानीय चुनावमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका रोशनलालले तत्कालीन धुलावारी गाविस वडा नं. ८ को अध्यक्षमा निर्वाचित भएर जनताका काममा आफूलाई निरन्तर समर्पित गरेका थिए ।

उनका छोरा पुनित वंशल पनि बाबुको सपना साकार पार्न भगिरथ प्रयत्न गर्दै आएका छन् । व्यवसायीसमेत रहेका पुनित सामाजिक कार्यमा समर्पित छन् । बुवाआमाको मार्गदर्शनकै कारण आफू यो ठाउँमा उभिन पुगेको पुनित बताउँछन् । यो समुदाय व्यापारिक क्षेत्रमा अग्रपंक्तिमा देखिने गरेको छ ।
एकबेला ‘पूर्वको हङकङ मार्केट’ को रुपमा कहलिएको धुलावारी बजार पछिल्लोसमय विभिन्न कारणले तुलनात्मकरुपमा सुस्ताएपनि अझै ग्राहकले रोज्ने र खोज्ने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्