बिर्तामोड, माघ १७ । शहीद दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित नगरस्तरीय मिनी म्याराथनको उपाधि रविन सुब्बा र सुनिता किस्कुले जितेका छन् ।

बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ सुब्बाले सात किलोमिटरको दूरी २६ मिनेट ०७ सेकेन्डमा पूरा गरेका थिए ।त्यस्तै, दोस्रो भएका अनिस बस्नेतले २७ मिनेट २४ सेकेन्ड, तेस्रो भएका विधान राईले २७ मिनेट ४५ सेकेन्ड, चौथो भएका दावा तामाङले २८ मिनेट र पाँचौँ भएका मनिष श्रेष्ठले २८ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेका थिए ।त्यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा सुनिताले २३ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दोस्रो भएकी ईश्वरी लिम्बूले २३ मिनेट ३५ सेकेन्ड, तेस्रो भएकी भावना राईले २५ मिनेट ३० सेकेन्ड, चौथो भएकी माया तामाङले २६ मिनेट ३१ सेकेन्ड र पाँचौँ भएकी आइसा राईले २७ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

विजेताहरुले क्रमशः नौ हजार, सात हजार, पाँच हजार, तीन हजार र एक हजार नगदसहित प्रमाणपत्र पाए । पुरुषतर्फ ५५ जना र महिलातर्फ १६ जनाले प्रतियोगितामा भाग लिएका थिए ।म्याराथनको उद्घाटन १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य एकराज कार्कीले सिटी फुकेर गरेका थिए । समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रदेशसभा सदस्य कार्कीले स्वास्थ्यका लागि मात्र नभई राष्ट्र लागि पनि खेलकुद जरुरी रहेको उल्लेख गरे ।त्यस्तै, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले गत वर्षबाट सुरु भएको मिनी म्याराथन प्रतियोगिता आगामी वर्षमा अझ स्तरीय र व्यवस्थित बनाइने बताए । झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले च्याम्पियन बन्न त्यति सहज नभएको र खेलाडीले जित्नकै लागि खेल्नुपर्ने बताए ।विजेतालाई प्रदेशसभा सदस्य कार्की, नगरप्रमुख शिवाकोटी, झापा ११ एफसीका अध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, जिल्ला ट्राफिक प्रमुख प्रकाश जवेगू, वडा नम्बर ३ का वडा अध्यक्ष भोजराज सिटौला, वडा नम्बर १० का वडा अध्यक्ष दूर्योधन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।समितिका उपाध्यक्ष दुर्गाराज निरौला र केशव भण्डारीले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मी सरोज पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्