बिर्तामोड , माघ १७ । महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा एकदिने खाना महोत्सव सम्पन्न भएको छ ।

खाना महोत्सवमा कोदोको सेलरोटी, ढिडो, गुन्द्रुकको अचार, तरुल, सिस्नोको सुप, अचारलगायत परम्परागत खानाका परिकार राखिएको थियो । त्यस्तै खाँडीको कपडा, ढाका कपडा, बाँसबाट बनाइएका विभिन्न सामग्री, मह, अचार, कोदो, फापरको पिठो, टिमुर, तीलको छोपलगायतका झापाका महिला उद्यमीहरुले उत्पादन गरेका स्थानीय सामग्रीहरुको स्टलसमेत प्रदर्शनमा राखिएको थियो ।

एकदिने खाना महोत्सवमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पुरुषको तुलनामा महिलाको नेतृत्व बढी सफल हुने बताए । मन्त्री कार्कीले महिलाले नेतृत्व गरेका संघसंस्था र महिलाले शुरू गरेका उद्यम व्यवसाय सफल र अब्बल देखिएको प्रसंग उल्लेख गरेका हुन् । ‘महिलाले जे काम वा जिम्मेवारी लिन्छन् त्यसमा प्रतिवद्ध हुन्छन्, पुरुषको मन कतिबेला के हुन्छ भन्न सकिन्न’ मन्त्री कार्कीले भने, ‘राजनीतिमा पनि त्यस्तै हुन्छ, जो उम्मेद्वारको प्रचारप्रसारमा महिला बढी खटिन्छन् त्यहाँ सफलता प्राप्त हुन्छ, तर पुरुषले पार्टी परिवर्तन गरेको पनि पत्तो हुँदैन ।’महिला उद्यमीले उत्पादन गरेको सयपत्री फूललाई सुरक्षित रूपमा राख्नका लागि सिड हाउस बनाउने प्रस्ताव ल्याए प्रदेश सरकारको तर्फबाट तत्कालै सिड हाउस निर्माणको कार्य अघि बढाउने उनले आश्वासन दिए ।
त्यस्तै झापामा मेला महोत्सवका लागि सुविधासम्पन्न हल बनाउनका लागि जमिनको खोजी गर्न झापाका व्यापारी–व्यवसायीसमक्ष उनले आग्रहसमेत गरे ।

महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रदेश नं–१ का उद्योग वाणिाज्य संघका अध्यक्ष टिकाराज ढकाल, महिला उद्यमी संघ नेपाल इलामका शुशिला सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन युनिता दवाडीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्