भद्रपुर, माघ १८ । ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर झापाको भद्रपुर नगरपालिकाभित्रका असल स्याहारकर्तासहित ८० जना बृद्धबृद्धालाई सम्मान गरिएको छ ।

भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक संघ भद्रपुर नगर समितिको आयोजनामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका १० वटा वडाबाट प्रतिवडाका ६ जना जेष्ठ र २ जना असल स्याहारकर्ताका दरले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठ, समिति अध्यक्ष हेमप्रसाद खनाल ,सचिव शंकर गौतमलगायतले भद्रपुर १० निवासी १ सय ४ बर्षिया बृद्धा महंगा राजवंशीसहित ६० बर्ष माथिका बृद्धहरुलाई नगद ,दौरासुरुवाल टोपी तथा बृद्धाहरुलाई साडीचोलोसहित खाद्यसामग्री प्रदान गरेर सम्मान गरिएको थियो ।

त्यसैगरी असल स्याहारकर्ता २० जना छोरीबुहारीहरुलाई नगद ,दोसल्लासहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
संघका द्वितीय उपाध्यक्ष धनपती शिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जेष्ठ नागरिकका हक अधिकारका बारेमा भएको कानुनी व्यवस्थाका बारेमा जानकारी दिएका थिए ।
खनालको अध्यक्षता तथा सचिव गौतमको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ,समाजसेवी दुर्गाप्रसाद भट्टराई, वडा नं ७ का वडा अध्यक्ष विनोद पोखरेल , हरी वलीलगायतले मन्तव्य राख्दै जेष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले जेष्ठहरुलाई रोग प्रतिरोधात्मक औषधी यष्ठिमधु ,अमला ,अश्वगन्ध चुर्णलगायतका ४ प्रकारका १ सय ५ पोका औषधी प्रदान गरेको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले गरेका थिए ।
त्यस्तै विभिन्न सामाजिक गतिविधि गर्दै आईरहेको भद्रपुरस्थित चन्द्रगढी समाजसेवाले एक जना बृद्धलाई सम्मान गरेको छ ।

समाजको नजिकिदै गरेको दोस्रो बार्षिक उत्सवको अवसरमा भद्रपुर ८ स्थित ८६ वर्षिय दुर्गाप्रसाद दाहाललाई दोसल्ला ओढाउनुका साथै खाद्य सामग्रीसहित कम्वोडवाला कुर्सी प्रदान गरेर सम्मान गरिएको हो ।
समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, सचिव देवीमाया अधिकारी ,उपाध्यक्ष नयाँंनाथ पाण्डेसहितको टोलीले उनको घरमै पुगेर सम्मान गरेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष अधिकारीले संस्थाका अहिलेसम्मका गतिविधिका वारेमा प्रकाश पार्दै जेष्ठहरुको सम्मान गर्नु संस्थाको मुख्य योजना रहेको बताए ।
कार्यक्रममा कनकश्री टोल विकास संस्थाका अध्यक्ष कृष्ण कट्वाल, सम्मानित बृद्धाका छोरा लक्ष्मी दाहाल, संचारकर्मी रेवतीराज घिमिरे ,समाजका आजिवन सदस्य राममण्ी पोखरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संंस्थाकी सचिव देवीमाया अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्