दमक, माघ १८ । झापा जिल्लामा पछिल्लो समय बढेको लागु औषध दुब्र्यसन र यसको कारोबारलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताएका छन् ।

भट्टराई कुल वंश प्रतिष्ठानले आइतबार गरेको स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भट्टराईले युवा पुस्तालाई लागु औषधबाट जोगाइ मुलुकको असल नागरिक बनाउन अभिभावकहरु पनि उत्तिकै जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।
झापा जिल्लाको धेरै क्षेत्र भारतसंग सीमा जोडिएकाले यो संवेदनशील ठाउँ रहेको भन्दै उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुले प्रहरी उपरीक्षक भट्टराईलाई सफलताको शुभकामना दिएका थिए ।
सोही अवसरमा भट्टराई कुल वंश प्रतिष्ठानले संचालन गरेको बशिष्ठ संस्कृत गुरुकुलमा समेत प्रहरी उपरीक्षक भट्टराईलाई स्वागत गरिएको थियो । गुरुकुलमा अध्ययनरत बटुकहरुले स्वस्ती वाचन गर्दै भट्टराईलाई स्वागत गरेको भट्टराई कुल वंश प्रतिष्ठानका जिल्ला सचिव गिरिराज भट्टराईले जानकारी दिए ।