शनिश्चरे, माघ १९ । नगरमा कुष्ठरोगबाट प्रभावित रहेका व्यक्तिलाई जाडो मौसममा फाइवरको ओढ्ने सिरक बाँड्दै अर्जुनधारा नगरपालिकाले ६८औँ विश्व कुष्ठरोग दिवस मनाएको छ ।

कुष्ठरोगबाट प्रभावित भएका ९ जनालाई नगरको स्वास्थ्य शाखाले न्यानो कपडा वितरण गरेको हो । सोही कार्यक्रममा कुष्ठरोगको अवस्थाबारे नेपाल कुष्ठरोग संगति (एनएलएफ) झापाले अन्तरक्रिया पनि गरेको छ । एनएलएफ झापाका कार्यक्रम संयोजक दिपक घिमिरेका अनुसार झापाका १५ पालिकामध्ये अर्जुनधारा सातौँ स्थानमा रहेको छ । यो तथ्यांक गत असार मसान्तसम्मको हो । सबैभन्दा बढी प्रभावित कचनकवल गाउँपालिका रहेको छ ।

उनका अनुसार कचनकवलमा सबैभन्दा बढी २० जना कुष्ठरोगबाट प्रभावित बनेका छन् । अर्जुनधारामा ९ जनाको तथ्यांक भएपनि चार जनाले नियमितरुपमा मात्राअनुसार औषधि सेवन गरेका कारण अहिले ५ जनाले मात्र औषधि सेवन गरिरहेका छन् । कात्तिकसम्म ५ जनाको तथ्यांक रहेको छ भने चार जनाले पूर्णरुपमा औषधि लिइसकेका छन् । अर्जुनधाराको हकमा यो रोग निवारण र नियन्त्रणका क्रममा रहेको तथ्यांक छ ।विश्वमा सबैभन्दा बढी भारतमा कुष्ठरोगीको संख्या रहेको छ । विश्वमा कुष्ठरोगबाट प्रभावितको संख्यामध्ये भारतमा ६० प्रतिशत रहेको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार नेपालका १७ जिल्लामा १४३ जना कुष्ठरोगबाट प्रभावित छन् । जसमा ६२ जना महिला ८१ जना पुरुष रहेका छन् ।

सबैभन्दा बढी महोत्तरीमा यसबाट प्रभावित व्यक्ति छन् ।श्वासको माध्यमबाट माइक्रो व्याक्टेरियन लेप्रे मानिसमा सर्दा कुष्ठरोग लाग्दछ । प्रति सय जनामध्ये ३ जनामा यो रोग सर्ने बताइएको छ । तर, यो रोगबाट प्रभावित व्यक्तिले एक पटकमात्र औषधि सेवन गरेको खण्डमा ९९ प्रतिशत उक्त रोग नसर्ने कार्यक्रम संयोजक घिमिरेले बताए ।यो रोगबाट प्रभावित व्यक्तिलाई नेपाली समाजमा नकारात्मक दृष्टिले हेर्ने भएका कारण रोग लुकाइने हुँदा एकबाट अर्को व्यक्तिमा सर्ने गरेको पनि घिमिरेको भनाइ छ । यो रोग सरिहालेको खण्डमा प्रभावित व्यक्तिको अंगभंग हुने, रोजगार गुम्ने र सिंगो परिवार नै गरिबीतर्फ धकेलिने भएकाले समयमै स्वास्थ्यकर्मीको सम्पर्कमा आएर औषधि सेवन गर्नुपर्ने उनको सुझाव छ ।अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षता तथा स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईंको सञ्चालनमा भएको कार्यक्रममा एनएलएफ झापाका स्वास्थ्यकर्मी पर्शुराम पोखरेल, अन्द्रियास मगर, प्रभावित व्यक्तिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्