दमक, माघ २२ । मुखमा क्यान्सरको संक्रमण भएपछि कमल गाउँपालिका वडा न.६ की ४४ बर्षिया राधादेवी साहले आफनो जीवन बचाईदिन आग्रह गरेकी छिन् ।

दुई वर्षअघि एक्कासी जिव्रोमा मासु पलाएपछि विस्तारै मुखैभरि फैलिन थालेको र आफूसंग उपचार गर्ने पर्याप्त रकम नहुँदा रोग पालेर बस्न बाध्य हुनुपरेको पीडित साहले बताईन् ।
मोरङको रतुवामाई नगरपालिका वडा न.३ घर भएपनि एक दशकदेखि साह परिवार कमल ६ को एक घरमा बस्दै आएका छन् । अत्यन्त नाजुक आर्थिक अवस्था भएका विरामीको शल्यक्रिया गर्नका लागि डाक्टरले ३ लाखबढी रकम लाग्ने बताएको र त्यति रकम जुटाउन नसक्दा लामो समयदेखि रोग पालेर बस्न बाध्य हुनुपरेको उनका श्रीमान मंगलचन्द्र साहले बताए ।
उनका अनुसार दमक तथा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा हालसम्म ऋण गरी ल्याएको रु २ लाखबढी रकम खर्च भईसकेको छ । थप उपचार गर्नका लागि आफूसंग त्यतिका रकम नभएपछि सवैसंग सहयोगका लागि गुहार माग्नु परेको उनले बताए ।
दैनिक जनमन गर्दै आएका साहका तीन छोरा र दुई छोरी छन् । पीडित साह परिवारले विरामी राधादेवीको जीवन बचाई दिन सवैसंग सक्दो सहयोगको याचना गरेका छन् ।
यसैबीच,पीडित राधादेवीको उपचारमा यथासक्य आर्थिक सहयोग जुटाईदिन स्थानीय सामाजिक अगुवा कृष्णप्रसाद भण्डारीले समेत आग्रह गरेका छन् । उनले भने,–‘जीवनमरणको दोसाधमा पुगेकी विरामीको अवस्था जटिल बन्दै गएको छ, हाम्रो सानो सहयोगले उनलाई बचाउन सकिन्छ । ’
पीडितको उपचारमा सहयोग गर्न चाहनेले सोझै विरामीको श्रीमानको मोवाइल ९८१६९०५४१३ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।