जनकपुर, माघ २२ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले आमहड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।

झडपको क्रममा प्रहरीले दर्जन राउण्ड हवाइ फायर गरेको छ । जनकपुरधामका पसल बजारहरु बन्द गराउँदै हिडेका प्रदर्शनकारीहरु जानकी चौकवाट जनक चौक हुँदै शिव चौक पुगेपछि विपरित दिशावाट आइरहेको एक भ्यानमा तोडफोड गरेका थिए ।

त्यसपछि प्रहरीले हवाइ फायर गर्दा झडप भएको हो । प्रदर्शनकारीहरुले गाडीमा तोडफोड गर्न लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृकाप्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाउँदै गर्दा जनकचौकबाट प्रहरी निरीक्षक अशोक झाले हवाइ फायर गर्न आदेश दिएपछि प्रदर्शनकारी उग्र बनेका थिए । केहि नेता कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले अश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई भानुचौक तर्फ धपाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्