रमेश समदर्शी,
बिर्तामोड । झापामा क्यान्सर रोगबाट पीडितको अवस्था भयावह देखिएको छ ।

गत वर्षको तथ्यांकलाई हेर्ने हो भने झापा प्रदेश १ मै अग्रपंक्तिमा रहेको छ । २१औँ विश्व क्यान्सर रोगविरुद्ध दिवसको सन्दर्भमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडले आयोजना गरेको प्यानल डिस्कसनमा प्रस्तुत तथ्यांकले झापा जिल्ला क्यान्सर रोगको अवस्था भयावह देखिएको हो । हस्पिटलका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले पूर्वमा सबैभन्दा बढी झापामा क्यान्सर रोगका बिरामी रहेको तथ्यांक प्रस्तुत गरे । गत वर्ष झापामा १ हजार ४६२ जना क्यान्सरका बिरामी फेला परेको उनले बताए । त्यस्तै, दोस्रोमा मोरङमा ४३१, सुनसरीमा २९६, इलाममा २३६ र पाँचथरमा ८ जना क्यान्सरका बिरामी फेला परेको तथ्यांकमा छ । झापामा देखिएका नयाँ बिरामीमध्ये महिलाको अवस्था झन् दयनीय रहेको बताइएको छ । यहाँ देखिएका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका १४९ जना रहेका छन् । उनीहरु २२ वर्षदेखि २ वर्ष उमेर समूहका छन् । त्यस्तै, पाठेघरको मुखको क्यान्सर बिरामीको संख्या ८४ जना रहेको छ । समग्रमा फोक्सोको क्यान्सरबाट पीडित हुनेको संख्या १०७ रहेको डा. यादवले जानकारी दिए । नेपालमा १२ वटा सेन्टर र ३ वटा क्यान्सर हस्पिटलले सेवा दिइरहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय झापाको एक तथ्यांकले पनि झापामा क्यान्सर रोगका बिरामीको संख्या बढ्दै गएको पुष्टि हुन्छ । क्यान्सर रोगको उपचारका लागि सरकारले विपन्नका लागि एक लाख रुपैयाँबराबरको स्वास्थ्योपचार सुविधा उपलब्ध गराउने गरेको छ । तथ्यांकअनुसार झापामा ०७५(०७६ ९५७ जनाले उक्त सुविधा लिएका थिए भने ०७६–०७७ मा १ हजार ३२१ जनाले सरकारी सुविधा लिएका छन् ।

यसैगरी, गाइनो अंको सर्जन डा. प्रियंका कटुवालले ९ महिनाको अवधिमा ६७८ वटा महिलासम्बन्धी क्यान्सर रोगका नयाँ बिरामी उपचारमा आएको बताइन् । जसमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या बढी रहेको उनको भनाइ छ । समयमै रोगको पहिचान भएको खण्डमा उपचार सम्भव हुने तथा खर्च पनि कम लाग्ने भए पनि उमेर ढल्केपछि चिकित्सकको सम्पर्कमा आउने भएकाले स्थिति बिग्रंदै गएको डा. कटुवालले बताए । उनका अनुसार महिलामा हुने स्तन क्यान्सर र पाठेघरमा हुने ६ प्रकारका क्यान्सरको पहिचानका लागि ३५ वर्षको उमेरमा हुने रोग १५ वर्षअघि नै पत्ता लाग्ने गर्छ । तर, रोग लागिसकेपछि आउने नेपालीको बानीले धेरैले अकालमै ज्यान गुमाउनु परेको उनको अनुभव छ । विश्वमा ६ लाख क्यान्सर रोगी महिलामध्ये ३ लाख ४० हजार जनाको मृत्यु हुने तथ्यांक उनले सुनाइन् । विश्व क्यान्सर रोगविरुद्धको सन्दर्भमा क्यान्सर रोकथाम तथा नियन्त्रणमा सरोकारवाला निकायको भूमिका विषयक प्यानल डिस्कसनमा विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना भनाइ राख्दै संस्थाको तर्फबाट प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले झापामा स्तन, फोक्सो र पाठेघरको क्यान्सर रोगको बिरामीको संख्या बढ्दो रहेको दोहो¥याए । यो रोगबाट पीडित हुनेको संख्या न्यूनीकरण गर्नका लागि मानिसको बानी र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । सरकारले यसको रोकथामका लागि पहिचानलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तुलसी पोख्रेलले क्यान्सर पीडितलाई सरकारले दिने सुविधा विपन्नले भन्दा पनि सम्पन्न परिवारले लिँदै आएकोमा दुःख व्यक्त गरे । एक लाखबराबरको सुविधा बिर्तामोडका २६ महिलासहित ५१ जनाले लिएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले शारीरिक क्यान्सरभन्दा पनि सामाजिक क्यान्सरका रुपमा लागुऔषध व्याप्त भएको सुनाए । लागुपदार्थ समाजको क्यान्सर हो भन्दै लागुऔषध सेवन, बेचविखनलाई निर्मूल पार्नसके शरीरको क्यान्सर पनि हटाउन सकिने उनको भनाइ थियो । यसैगरी, नेपाल पत्रकार महासंघ झापाका सभापति तारामणी सापकोटाले रोग नियन्त्रणका लागि सरकारको नीति नै फितलो रहेको बताए । अहिले भएको नीति नियम पनि कार्यान्वयन गराउन नसक्दा पनि बेपर्वाह रोग फैलँदै गएको उनको भनाइ छ । स्थानीय तहले पनि केही नीति निर्माण गरेर कार्यान्वयन गर्नसक्ने अवस्था रहे पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको उनको गुनासो थियो । ‘यहाँ हस्पिटल सञ्चालन गर्नका लागि लाइसेन्स पाउन मुस्किल छ, मेडिकल माफियाको आरोप लाग्छ’, उनले भने, ‘तर, वियर र गुट्खाको फ्याक्ट्री खोल्छु भन्दा उद्योगी भन्दै तुरुन्त लाइसेन्स दिइन्छ ।’ नसर्ने रोगलगायत सबै किसिमका रोग रोकथाममा सरकार चुकेको उनको बुझाइ थियो । आफ्नो प्रतिबद्धता जाहेर गर्दै वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले क्यान्सर रोगबाट महिला बढी जोखिममा रहेको सुनाइन् । एक गृहिणीले आफूभन्दा पनि पहिला परिवारका सदस्यलाई प्राथमिकतामा राख्ने नेपाली महिलाको संस्कारले महिला थप पीडित हुनु परेको तर्क अघि सारिन् । उनले भनिन्, ‘परिवारका सदस्यपछि मात्र महिलाले आफूलाई दोस्रो प्राथमिकतामा राख्ने हाम्रो समाज छ ।’
यसैगरी, रोट्रयाक बिर्तामोड मिड टाउनकी उपाध्यक्ष सालु कोइरालाले स्वास्थ्यसम्बन्धी कार्यमा बिएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् । संस्थाले पुनप्र्रयोग गर्न मिल्ने सेनेटरी प्याडको उत्पादन गरिरहेको जानकारी गराउँदै उनले हस्पिटललाई सहयोग गर्न संस्थामा १८ देखि ३० वर्षका युवा सक्रिय रहेको सुनाइन् ।
हस्पिटलकी अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य क्षेत्रको लगानी सम्पत्तिका लागि नभएर कामका लागि भएको बताए । आफू पनि क्यान्सरपीडित हुँदा उपचार नपाएको पीडाले बिर्तामोडमा क्यान्सर हस्पिटल स्थापना गरेको बताउँदै उनले संरचनाले जग बसाल्ने, आफूले लिएर नजाने आफ्ना विचार राखे । नकारात्मकभित्र सकारात्मकको खोजी गर्ने आफ्नो बानी भएको सुनाएका उनले थप ५ हजार करोड लगानी गरेर अब युनिभर्सिटी बनाउने उद्घोष पनि गरे । गाली, बेइज्जती र नकारात्मक टिप्पणीलाई आफूले सम्पत्तिको रुपमा ग्रहण गर्दै आइरहेको उनको भनाइ थियो । क्यान्सर रोगलाई मृत्युसँग मात्र जोडेर हेर्ने हाम्रो समाजमा समयमै उपचार पाउनसके जीवन बचाउन सम्भव छ भन्ने सन्देश दिनका लागि पनि कार्यक्रम आयोजना गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । सोही कार्यक्रमबाट ५बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको थियो । जसमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, वातावरण स्वच्छताको विषयमा कार्यक्रम गर्ने, क्यान्सर रोगविरुद्ध विषयमा प्रचारप्रसार गर्ने, अस्पतालसँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्ने र झापालाई क्यान्सर रोगीको संख्या न्यून बनाउन सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।