अर्जुनधारा , माघ २३ । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार क्यान्सरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२१औँ विश्व क्यान्सर दिवसको सन्दर्भमा नगरकक्षमा आयोजित कार्यक्रमका वक्ताहरुले क्यान्सर रोग नसर्ने भएपनि दैनिकजसो क्यान्सरका बिरामी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । क्यान्सर रोगीको संख्या बढ्दै जानुमा खानपान, बानी व्यवहार र वातावरण नै भएको निश्कर्ष चिकित्सकहरुले सुनाए ।

कार्यक्रममा बोल्दै शनिश्चरे अस्पतालका डा. रविन्द्र ओलीले क्यान्सर रोग उपचार गरे सम्भव हुने भएपनि नियमित व्यायाम, पसिना निस्कने किसिमका परिश्रम, धुमपान, मदिरा सेवन त्याग्ने र खानपानमा सुधार ल्याउन सकेको खण्डमा क्यान्सर रोग नलाग्ने बताए ।शरीरका विभिन्न अंगमा क्यान्सर हुने भएपनि पछिल्लो वर्षको तथ्यांकमा महिलाहरु बढी पीडित बन्दै गएको उनले सुनाए । महिलामा पाठेघर क्यान्सर र स्तन क्यान्सर अधिक हुने गरेको भन्दै आफ्नो बानी, व्यवहारमा परिवर्तन ल्याउन उनको सुझाव छ ।कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर हरिकुमार रानाले बानी, वातावरण र विषादीका कारण क्यान्सर रोग हुने तथ्य सार्वजनिक भएकाले आफ्नो आचरणमा सुधार ल्याउन सक्नुपर्नेमा जोड दिए । बानी र विषादी मानवसिर्जित विपत्ति हुने तथा वातावरण प्राकृतिक विपत्ति हुने भएकाले बेलैमा सजग बन्नुपर्ने उनको भनाइ थियो ।स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले पोलेर खाइने मासुबाट ४० प्रतिशत क्यान्सर रोग हुने भन्दै धुमपान र मद्यपानबाट पनि त्यति नै रोग लाग्ने गरेको सुनाए ।

जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीयको सहभागिता रहेको कार्यक्रममा ध्यानबहादुर भारती, भोला परियार, डम्बर घिमिरेलगायतले आफ्ना जिज्ञासा राखेका थिए ।कार्यक्रममा नियमित शारीरिक व्यायाम गर्ने, धुमपान, मद्यपान, सूर्तीजन्य पदार्थको सेवन नगर्ने, हरियो सागसब्जी, फलफूल आफैँ उत्पादन गरेर खाने तथा रासायनिक र विषादीको प्रयोग नगर्ने भन्दै मेयर रानासँगै सहभागीले प्रतिबद्धता जनाएका छन् ।स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले सहजीकरण गर्दै क्यान्सरसम्बन्धी कुनै पनि लक्षण देखिए वा शंका लागेको खण्डमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।पछिल्लो तथ्यांकअनुसार बितेको ७ महिनाभित्र अर्जुनधाराका १७ जनाले क्यान्सर रोगको उपचारका लागि स्वास्थ्य शाखाबाट सिफारिस लिएको उल्लेख छ । बितेको साउनदेखि माघ महिनासम्म १७ जनाले सरकारबाट प्राप्त हुने एक लाखबराबरको उपचार सुविधाका लागि सिफारिस लिएका हुन् ।त्यस्तै, गत वर्ष अर्जुनधाराबाट १४ जनाले सिफारिस लिएको स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईले बताइन् । यस वर्ष झापाबाट एक हजार ३२१ जनाले उपचारका लागि सिफारिस लिएको तथ्यांक छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्