मेचीनगर, माघ २४ । नागरिक आन्दोलनका अगुवा, मानवअधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री के.पी. शर्मा ओली जनआन्दोलनका उपलब्धी समाप्त पार्न उद्धत रहेको आरोप लगाएका छन् ।

मानव अधिकार तथा शान्ति समाज झापाको जिल्ला अधिवेशनलाई आज धुलाबारीमा सम्बोधन गर्दै उनले विदेशीको इशारामा आफ्नो देशलाई बर्वाद पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् ।
ओलीले लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको बताउँदै मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीले नेपाली जनता शान्ति र लोकतन्त्रको पक्षमा रहेको हुँदा ओली र ओली प्रवृत्तिको पतनका दिन शुरु भइसकेको धारणा राखे ।
शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनीले केही भाडाका मान्छेहरु बाहेक स्वाभीमानी नेपालीहरु ओलीको असंवैधानिक कदमका विरुद्ध रहेको बताए ।नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति कृष्ण हुमागाईले नेपाली पत्रकारहरु जहिले पनि निरंकुशता र अधिनायकवादको विरुद्ध संघर्ष गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा रहेको हुँदा ओली प्रवृत्तिको अन्त्यका लागि पुनः आन्दोलनमा उत्रनुपर्ने आवश्यकता औंल्याए ।प्रगतिशिल साहित्यकार पुण्य खरेलले भ्रष्टाचार, वेथिति र गुण्डाराज चलाएर ओलीले संसारभर कम्युनिष्टकै बद्नाम गरेको धारणा राखे ।
अग्रज पत्रकार रामरिजन यादवले के.पी. ओली परिवर्तनको विरोधी रहेको हुँदा ओलीबाट लोकतन्त्रको संरक्षण असम्भव रहेको विचार ब्यक्त गरे ।
मानव अधिकार तथा शान्ति समाज झापाका अध्यक्ष महेन्द्रविलास लुईटेलको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाजका केन्द्रीय प्रतिनिधि विकास थापाले संविधानको अपब्याख्या गरेर अदालतले गलत फैसला दिन नसक्ने बताए । कार्यक्रमको सञ्चालन सुवास रिजालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्