बिर्तामोड , माघ २५ । बिर्तामोड नगरपालिकाको दमकललाई भ्याइ नभ्याइ छ । सुख्खायाममा आगलागीका घटना बढेपछि आगो निभाउन दमकलहरु व्यस्त भएका हुन् ।

आगो निभाउँदै फायरमेन

यस वर्ष बिर्तामोड क्षेत्रमा गत असोज महिनादेखि आगलागीका घटना शुरु भएको थियो । असोज महिनामा एउटा आगलागी भएको थियो भने कात्तिकमा ५ वटा भएका थिए । तर , मंसिरमा त्यो सँख्या बढेर १५ पुगेको छ । त्यस्तै माघ महिनाको २५ गतेसम्म ८ वटा आगलागीका घटना भएका छन् । आइतबार मात्र बिर्तामोड २ लालमाटीका खुशीलाल राजवंशीको परालको कुन्युमा आगलागी भएको छ । बिर्तामोड नगरपालिकाको दमकल र पानी ट्यांकरले सो आगो नियन्त्रणमा लिन सफल भए । नत्र बस्तीको बीचमा लागेको सो आगोले ठूलै क्षति गर्न सक्ने थियो ।

बिर्तामोड क्षेत्रमा ४ वटा भीषण आगलागीका घटना भएका छन् । केही दिनअघि मात्र विशाल वेभरेज एण्ड फुड प्रालिमा ९ करोडभन्दा बढी क्षति हुनेगरी आगलागी भएको छ । त्यस्तै नमस्ते प्लाई फ्याक्ट्री , अटो सोरुम र बिर्तामोडको सटरमा भएका आगलागीका घटनाबाट करोडौंको क्षति भइसकेको छ । अधिकांश आगलागीका घटनाहरु विजुली सर्ट र ग्यासबाट भएको पाइएको छ । त्यस्तै कतिपयहरु अचानक पनि भएका छन् । ‘ धेरै घटनाहरु विजुली सर्ट भएर र ग्यासबाट भएका देखिन्छ ’दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले भने ,‘ बालबालिकाले आगो खेलाउँदा पनि धेरै ठाउँमा आगलागी भएका छन् । ’ बिर्तामोड नगरपालिकासँग एउटा मात्र दमकल छ । त्यसमा ७ जनाको दरबन्दी रहेको छ । त्यस दमकलले एक्लै निभाउन नसक्दा नगरपालिकाको पानी ट्यांकरलाई पनि दमकलको रुपमा प्रयोग गर्ने गरिएको छ । ‘एउटा दमकलले आगो निभाउन गाह्रो भइरहेको छ ’ पौडेलले भने , एउटाले नभ्याएपछि पानी ट्यांकरलाई पनि आगो निभाउन प्रयोग गर्ने गरेका छौं ।’ उनले बढ्दो जनघनत्व भएको बिर्तामोडका लागि अर्को दमकल नगरपालिकासँग माग गरेपनि अर्को दमकल आउने कुनै अत्तोपतो नभएको बताए । झापा जिल्लाभर ८ वटा दमकल रहेका छन् । दमक नगरपालिकासँग ३ वटा दमकल रहेका छन् । त्यस्तै भद्रपुर नगरपालिकामा १ , मेचीनगर नगरपालिकामा १ , कमल गाउँपालिकामा १ र गौरादह नगरपालिकामा एउटा दमकल रहेका छन् । ‘दिनमा दुई पटकसम्म आगो निभाउन जानु परेको छ ’पौडेलले भने , ‘आगलागी बढेसँगै हाम्रो पनि जिम्मेवारी बढेको छ ।’

सुख्खायामको शुरुवातसँगै हरेक वर्ष आगलागीका घटना हुने गरेको छ । धेरै आगलागीका घटना लापरवाहीले गर्दा हुने गरेको पाइएको छ । आगो ननिभाएर यत्तिकै छोड्ने , विद्युतीय तारहरुको मर्मत नगर्ने , वालवालिकालाई आगो खेल्न दिनेजस्ता कारणले आगलागीका घटना हुने गरेका छन् । हावाहुरीको मौसम शुरु नहुँदै यति धेरै आगलागीका घटना बढेकाले अझ धेरै चनाखो र सतर्क बन्नु पर्ने आबश्यकता रहेको पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्