अर्जुनधारा, माघ २६ । महिलालाई व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले व्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जासम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला उद्यमी संघ नेपाल अर्जुनधारा नगर समितिको आयोजना तथा एक्सेल डेभलपमेन्ट बैंकको सहकार्यमा कार्यक्रम भएको हो । संघकी अध्यक्ष दीपा खरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना रहेका थिए । प्रमुख अतिथि रानाले महिलालाई व्यवसायसँग जोड्दै अगाडि बढ्नसके समाजको आर्थिकस्तर उकास्न सहज हुने बताए । उनले महिलालाई सचेत बनाउँदै व्यवसायमा संलग्न गराउने उद्देश्यले सहुलियत व्याजका विषयमा जानकारी दिनु राम्रो भएको भन्दै उनीहरुबाट उत्पादित वस्तुहरुको बजारीकरणमा पनि ध्यान दिन जरुरी रहेको बताए । महिलाले गरेका काम समाजमा सफल भएको प्रशस्तै उदाहरण भएको हुनाले महिलालाई घर बाहिरका काम अग्रसर गराउनु पर्ने कु्रामा जोड दिए ।

कार्यक्रममा अर्जुनधारा –७ का वडाध्यक्ष नवराम ढुंगाना, कार्यपालिका सदस्य रमेश त्रिखत्री, एक्सेल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेल, समाजसेवी सरस्वती सिटौलालगायतको आतिथ्यता रहेको थियो । संघकी सहसचिव सरस्वती नेपालले स्वागत गरेको अन्तरक्रियाको सहजीकरण बैंकका ऋण विभाग प्रमुख शिव गिरीले गरेका थिए । कार्यक्रममा महिलाको व्यवसाय हेरी बिनाधितो १५ लाखसम्म ब्याज अनुदानसहित सहुलियत दरमा ऋण प्रदान गरिने जानकारी दिइएको थियो । कार्यक्रमको सञ्चालन महासचिव गीता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्