भद्रपुर, माघ २७ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले नागरिक अधिकार अतिक्रमण गरेको भन्दै अधिकार नफर्कदासम्म काँग्रेस चुप लागेर नबस्ने बताएका छन् ।

भद्रपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको संविधानले संसद विघटन गर्ने अधिकार दिँदा शासकीय व्यवस्था नै समाप्त भएर नागरिकले सास्ती व्यहोर्नु परेको स्मरण गर्दै वर्तमान संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएको जिकिर गरे । सिटौलाले स्थिर संसद विघटन गर्ने ओलीको कदमले नागरिक अधिकारमाथि अतिक्रमण भएकोले काँग्रेस सडकमा आएको प्रष्ट पारे । देश र जनताका पक्षमा काम गर्न नसकेको सरकार कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको बताउँदै संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले विश्व राजनीतिमा नभएको अराजकता देखाउँदै ओलीले राज्य दोहन गरी सडक कब्जा गरेर दुनियाँ हसाएको दावी गरे ।
सिटौलाले विगतका राजा महाराजाको शैलीमा ओलीको सनक फैलने प्रयासमा रहेकाले व्यवस्था जोगाउन पनि वडा स्तरसम्म काँग्रेसको जागरण अभियान सञ्चालन गरिएको उल्लेख गरे । उनले वर्तमान संविधानमै नभएको प्रावधान सही हो भनेर ओली पक्षधरले पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक अस्थिरता निम्तने संसद विघटन अदालतले खारेज गर्ने विश्वास व्यक्त गरे ।
तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रिस संसदमाथि पोखेको आरोप लगाउँदै सिटौलाले प्रधानमन्त्रीमा बस्ने नैतिकता केपी ओलीसित नरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्