अहिलेको आमसभामा भेला हुने भीड देख्दा लाग्छ नेपालमा जनताभन्दा कार्यकर्ता बढी छन् । खबर आउँछ जनताले सबै दलका शिर्ष नेताहरुको विरोध गर्छन् भनेर अनि फेरि उही नेताले आह्वान गरेको भेलामा थामिनसक्नुको भीड जम्मा पनि हुन्छन् । जनतामा पनि चेतना जाग्न जरुरी छ । जबसम्म हामी सचेत र जागरुक हुँदैनौ, तबसम्म यी जुकाहरुले हाम्रो खुन चुसी नै रहने छन् ।
देशमा स्थिरता आओस्, समृद्धि र विकास आओस् भन्ने हेतु नेपाली जनताले २०७२ सालमा भारतले लगाएको नाकाबन्दीविरुद्ध खरो उत्रिएका बामपन्थी नेता केपी शर्मा ओली नेतृत्वको दललाई बहुमतको जित दिलाई सरकारमा पु¥याए । चुनाव ताकाका उनको भाषण पनि उही तवरकै थियो । उनको प्रत्येक भाषणमा समृद्धि र स्थिरताको नारा झल्किन्थ्यो । देशमा सुशासन र विकासको जग हाल्ने प्रतिबद्धता जनाउँदै देशव्यापीरुपमा भाषण गरेर चुनाव जिते । तत्कालीन माओवादी केन्द्रसँग एकीकरण गरेको घोषणा गरी विभिन्न निर्वाचन क्षेत्र बाडँफाँड गरी उम्मेद्वार उठाए र झण्डै दुईतिहाइ बहुमतले चुनाव जित्न सफल दल बन्यो नेपाल कम्युनिष्ट पार्टी । एकीकरण ताकानै दुई समान अध्यक्षको प्रावधान बनाएर चुनावमा होमिएका केपी र प्रचण्डको चुनाव जितेपश्चात् छेपारोले रंग फेरे जसरी नै रंग फेरियो ।

जसरी छेपारोले परिस्थति अनुसार रंग फेरेर झुक्याउछ, टार्छ । त्यसरी नै केपी–प्रचण्डले पनी चुनावका बेला एउटा रंग पहिरिएर जनतालाई झुक्याए अनि पछि आ–आफ्नो रंगमा फर्किए । पाँच वर्षमा देशको रंग फेरिदिन्छु भन्नेले ४ वर्ष नपुग्दै आफ्नै रंग फेरे । कोरोनाकालमा देश कहालीलाग्दो अवस्थाबाट गुज्रिदै जाँदा राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री, शिर्ष दलका नेता सबै नै जनतालाई घरमा थुनेको मौका छोपी आफ्नो दुनो सोझ्याउन तछाडमछाडमा लागे । सत्ता जोगाउनेदेखि लिएर पल्टाउने खेलसम्म खेल्न भ्याए सबै । आखिर जनताले दिएको बहुमत यही तान्डव मच्चाउनलाई हो त ?

मिलेर खान पाउने ठाउँमा आन्द्रा जोडेर हिड््छन् अनि जब एउटाले खान पाउँदैन तब पार्टीका कार्यकर्ता सडकमा उतारेर विरोधको नाममा आमजनतालाई सास्ती दिन्छन् । जनताले खाइ न खाइ दुःख गरेर, दोब्बर कर तिरेर जोडेको सवारी साधन जलाउने हुकुम दिन्छन् महामहिमहरु । आफू पजेरोमा चढेर बन्द सफल पार्न सडकमा निस्किन्छन्.।
समृद्धितर्फ उन्मुख गराउँछु भन्दै चुनाव जित्नेहरुले नै आज देशलाई फेरि करिब १० वर्ष पछाडी धकेलेका छन् । जनस्तरबाट नेतृत्वमा रहेका पुस्ताबाट स्थानान्तरण भइ देश युवा पुस्ताका नेताहरुले चलाउनु पर्छ भन्ने चर्को आवाज उठिरहेको छ । युवा पुस्ताले देशको नेतृत्व नलिए अब देश दुर्घटनामा पर्छ भन्दै आवाजहरु बुलन्द भइरहेका छन् ।

तर नेकपा विभाजनको प्रसंगले युवा पुस्तामा पनि कुनै दम छैन भनेर छर्लङ्ग नै पारिदियो । व्यक्तिगत स्वार्थको जगमा टेकेर नेकपा दुई समूहमा विभाजन हुँदैगर्दा यदि अहिलेको युवा नेतामा साँच्चै नै दम हुन्थ्यो भने सम्पूर्ण कम्युनिस्ट युवा नेताहरु एक ठाउँमा उभिनु पर्ने थियो । तर, बिडम्बना त्यसो हुन सकेन । युवा पुस्ताले पनि बाबुको सिको छोराले गरेझैँ आफ्ना गुटको नेता जो छन् उसकै पछि लागेर आफ्नै पार्टीका नेता कार्यकर्तालाई गाली गर्न अग्रसर देखिए ।
बन्द हडतालले देश बन्दैन भन्ने चेत अझै हाम्रा नेताहरुमा नभएकै त होला नि । मार्सी चामलको भात खानेहरु आज आफ्नो स्वार्थ पुरा नहुँदा सडकमा बसेर चिउरा चपाउँदैछन् ।
देश फेरि पनि यिनै जुकाहरुलाई सुम्पियौँ भने हामीले त दुःख पायौँ–पायौँ हामी पछाडीकाले झन् बढी दुःख पाउने निश्चित छ । त्यसैले अब नेतृत्व लिने युवाले नै हो । गरेपछि हुन्छ भन्ने उदाहरण त लोडसेडिङको अन्त्य गरेर कुलमान घिसिङले दिइसकेका नै छन् । राष्ट्रिय आविस्कार केन्द्र खोलेर महाबिर पुनले देशमा विज्ञान र विकासको सम्भावना छ भन्ने देखाइसकेका छन् । इच्छा शक्ति र दृढ विश्वास भए एउटा पत्रकारले पनि हजारौँको उद्धार र भ्रष्टाचार उन्मूलन् गर्न सक्छ भन्ने पेचिलो नमूना रवि लामिछानेले दिइसकेका छन् । हो त्यसैले अब सम्पूर्ण युवाहरुले आ–आफ्नो ठाउँबाट सृजनात्मक ढंगले नेतृत्व लिनुपर्छ र राष्ट्र निर्माणमा जुट्नु पर्छ ।
अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ।
जय देश ।
जय युवा ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्