बाहुनडाँगी , माघ २९ । मेचीनगरको बाहुनडाँगीमा सञ्चालित स्वास्थ्य शिविरमा जाँच गराएकामध्ये धेरैजसोमा उच्च रक्तचापको अवस्था पाइएको छ ।

मेचीनगरको बाहुनडाँगी र आसपासका बासिन्दालाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य परीक्षणको नतिजा यस्तो पाइएको हो ।
ग्रामीण भेगका नागरिकलाई प्राथमिकतामा राखेर आयोजना गरिएको शिविरमा जाँच गराउनेमध्ये अधिकाँश बिरामीमा रक्तचाप देखिएको स्वास्थ्य रिपोर्टमा उल्लेख छ ।
बिरामीको स्वास्थ्य परीक्षण गरेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मिर्गौला रोगका वरिष्ठ विशेषज्ञ डा. सञ्जीव शर्माका अनुसार दीर्घरोगमध्ये उच्च रक्तचापका बिरामी धेरै देखिएका छन् ।

के.एच.डी.सी नामक संस्थाको सहयोगमा मेचीनगर ४ नम्बर वडा कार्यालयले माघ १८ गतेदेखि बाहुनडाँगी सामुदायिक भवनमा निस्शुल्क स्वास्थ्य जाँचसहित परामर्श सेवा प्रदान गर्दै आएको छ ।
डा. शर्मा नेतृत्वको टोलीले सुरु गरेको ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत बाहुनडाँगीमा सञ्चालित शिविर फागुन ७ गतेसम्म चल्ने मेचीनगर वडा नं. ४ का अध्यक्ष नविन बरालले बताए । प्रत्येक हप्ता डा. शर्मासहित दैनिक दुईजनाभन्दा बढी विशेषज्ञ डाक्टरहरुले शिविरमा बिरामीको स्वास्थ्य जाँच गरिरहेको उनको भनाई छ ।

उक्त शिविरमा माघ २९ गतेसम्म ७४१ जनाको स्वास्थ्य जाँच गरिएको र तीमध्ये ४९० जनाको स्वास्थ्यमा केही न केही खराबी देखिएको डा. शर्माले बताए । उनका अनुसार ३२ जनामा पहिलोपटक मधुमेह देखिएको छ । त्यस्तै, मिर्गौलाका १९ जना नयाँ रोगी फेला परेका छन् भने ३७ जनामा दम, ३९ जनामा मुटु रोग देखिएको उनले जानकारी दिए ।
डा. शर्माले बाहुनडाँगी मात्रै नभएर समग्र क्षेत्रमा दीर्घरोगको अवस्था विकराल बन्दै गएको बताए ।
स्वास्थ्य शिविरको महत्व बुझाउन बिहीवार आयोजित अन्तरक्रियामा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले हरेक वडाका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

त्यसक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, किड्नी रोग लागेर स्वास्थ्य लाभ लिइरहेका दमकका गोविन्द भट्टराईलगायतले स्वास्थ्य अनुभव सुनाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी सुनिल दाहाललगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्