झापा , माघ ३० । झापाका तामाङहरुले पनि २८५७ औं सोनाम लोछार पर्व मनाएका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम लोछारलाई विभाजन गरिएको हुन्छ । लोछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ । मुसा वर्ष समाप्त भएर गाई वर्ष प्रारम्भ भएपछि उनीहरुले आज पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गरेका छन् । छारदिङ मंजुश्री २८५७ औं सोनाम लोछारको अवसरमा नेखाङ छोइलिङ गुम्बा बिर्तामोड ९ ले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । नेपाल तामाङ घेदुङ बिर्तामोड ९ को सहआयोजना रहेको कार्यक्रममा नयाँ वर्षको स्वागतमा पुजापाठ र सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सांसद एकराज कार्कीले सबै धर्म र जातिको समान ढंगले विकास नहुँदा देश समृद्ध नबन्ने धारणा राखे । उनले विविध जाति र संस्कृतिले भरिपूर्ण नेपालमा एकले अर्को जातिको संस्कार संस्कृतिको सम्मान गर्नुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले तामाङ जातिको विकास र नेखाङ छोइलिङ गुम्बाको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । गुम्बाका अध्यक्ष लक्ष्मीप्रसाद मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य हरि चौलागाई ,नेकपाका नगर कमिटी सचिव मोहन सुब्बा ,प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । गुम्बाकी कोषाध्यक्ष शनिमाया तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा प्रज्ञा मोक्तान , पुजा तामाङ, गुराँस तामाङ, लक्ष्मी तामाङ, रीता तामाङ, उषा तामाङ र मनिशा तामाङले नृत्य प्रस्तुत गरेका थिए ।