कुमरखोद, माघ ३० । झापा गाउँपालिका वडा नं २ झापा वजारमा रहेको नेपाल रेडक्रस सोसाईटी झापा उपशाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी झापा उपशाखाका सभापति सुन्दरलाल गणेशको अध्यक्षतामा सामुदायिक भवनको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष तथा रेडक्रसका संस्थापक अध्यक्ष जयनारायण शाह रहेका थिए । रेडक्रस सोसाईटी झापा उपशाखाका सभापति गणेशले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभापति गणेशले उपशाखाका संस्थापक अध्यक्ष शाहको अथक प्रयास र झापा जिल्ला शाखाका सभापति लोकराज ढकालको सहयोगमा २०७२ सालमा तदर्थ समितिको रुपमा कुमरखोद उपशाखा गठन भएको बताए । २०७३ सालमा असार ८ गते पहिलो अधिवेशनवाट सर्वसम्मत रुपमा शाहको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको थियो । हाल झापा उपशाखामा महिला ३५ र पुरुष ८९ गरी जम्मा १२४ जना आजीवन सदस्य रहेका छन् । आगामी दिनमा थप १०० जना आजीवन सदस्य वढाउने सभापति गणेशले योजना सुनाए । झापा उपशाखाले कोभिड १९ को समयमा क्वारेन्टाइन र आईसोलेशन निर्माण र व्यवस्थापनमा सहयोग गरेको , गत असार महिनामा आएको वाढीवाट सडकवारीमा १४९ र मिलनवस्तीमा ९२ गरी २४१ जना वाढीवाट विस्थापित परिवारलाई विद्यालयमा राखी राहतस्वरुप त्रिपाल , पानी शुद्धिकरण गर्ने औषधी चक्की वितरण गरेको , ३ वटा क्वारेन्टाइन स्कुलहरुमा २ लाख ५० हजारको दरले खानेपानी टंयाङकी र शौचालय निर्माण गरेको , वडास्तरमा कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यदल गठन गरेको तथा सरसफाइसम्वन्धी सचेतना पैmलाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रमुख अतिथि शाहले झापा उपशाखाको भवन बनाउनको लागि तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ५५ लाख रुपैयाँ वजेट विनियोजन भईसकेको भन्दै असार मसान्तभित्र रेडक्रसको भवन बनिसक्ने र यस शाखाका लागि एम्वुलेन्स ल्याउनको लागि पहल भईरहेको बताए । त्यसैगरी विशिष्ट अतिथि प्रदेश नं १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले झापा जिल्लामा जम्मा २७ वटा रेडक्रसको उपशाखा रहेको भन्दै जिल्ला शाखासँग राम्रो सम्वन्ध रहेकाले झापा गाउँपालिकामा रेडक्रसको धेरै जनशक्ति उत्पादन गर्न सफल भएको बताए । उपशाखाका उप–कोषाध्यक्ष कल्पना खड्काले स्वागत मन्तव्य गरेको कार्यक्रममा कोषाध्यक्ष लखी गणेशले वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी , शरणामती उपशाखा सभापति केशव वजगाई , वडा अध्यक्षहरु राजकुमार यादव , नेत्रवहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सशस्त्र विओपी टाघनडुब्बाका प्रहरी निरिक्षक सचिन प्रधान, ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक हरिबहादुर थापा , रेडक्रस शरणामती उपशाखाका पूर्व सभापति जगन्नाथ राजवंशी, वडा सचिव नारायण चम्लागाई , गणितप्रसाद गणेश , रामनारायण राजवंशी , राजकुमार कोच , पत्रकार वरतलाल राजवंशीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पशुपतिलाल गणेशले गरेका थिए ।