बुधबारे फागुन २ । बुधबारे जेसीजले प्रणय दिवसको अवसर पारेर ट्राफिक प्रहरी, प्रहरी र सवारी चालकलाई प्रेमको प्रतिक गुलाफ फूल प्रदान गर्दै सवारी साधनमा ट्राफिक सचेतनामुलक स्टिकर टाँसेको छ ।

आइतबार बुधबारे जेसीजले मेची राजमार्गअन्तर्गत बुद्धशान्तिको बुधबारे चोकमा एक कार्यक्रमको आयोजना गरी पूर्वी पहाडी जिल्ला तथा स्थानीय रुटमा चल्ने एक सयबढी सवारी साधनमा ‘छिटो होइन सुरक्षित तबरले गन्तव्यमा पुग्नु छ किनकी जीवन अनमोल छ’, ‘म सवारी चालक ! मेरो भरोसामा मेरो परिवार अनि यात्रीहरु’ लेखिएको सचेतनामुलक स्टिकर टाँसेको हो । स्टिकर टाँस्दै सवारी चालकहरुलाई प्रेमको प्रतिक गुलाफ फूल दिइएको छ ।
बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बुधबारे जेसीजका सदस्य तथा गेट्वे सर्भिसेज एण्ड टेक्नोलोजी प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विकासजंग कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जबेगुले बुधबारे जेसीजले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताउँदै झापामा सन् २०२१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग सहकार्य गरेको जेसीजको पहिलो कार्यक्रम भएको बताए । जबेगुले सवारी दुर्घटना न्यूनीकरणमा यो प्रयास सिम्बोलिक भएपनि महत्वपूर्ण भएको बताए । उनले बुधबारे जेसीजसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न चाहेको धारणा राखे ।
कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रहरी नायक निरीक्षक निराजन कटवालले सवारी चालक र प्रहरीबीचको दुरी कम गर्न बुधबारे जेसीजको प्रयास प्रभावकारी हुने प्रतिक्रिया दिए ।

कार्यक्रम संयोजक विकासजंग कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक शिवकुमार शर्मा, ट्राफिक प्रहरी पोष्ट बुधबारेका प्रमुख राजकुमार चौधरी, इप्रका बुधबारेका अर्जुन कार्की, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कृष्ण ढकाल, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, कोषाध्यक्ष मुकेश भट्टराई, गेट्वे सर्भिसेस एण्ड टेक्नोलोजीका सञ्चालक विमल कट्टेल, सुरेन्द्र खुलाललगायतको आतिथ्यता थियो । कार्यक्रम बुधबारे जेसीजका महासचिव सुजित बरालले सञ्चालन गरेका थिए ।