बिर्तामोड , माघ २ । बिर्तामोड ५ की अन्जु तिमल्सिना राजवंशीलाई पार्टीको झन्डा बनाउन भ्याइ नभ्याइ छ ।

फागुन ३ गते हुने नेपाली काँग्रेसको विरोध कार्यक्रमका लागि अन्जुको समूहले २ सय २० वटा झन्डाको अर्डर लिएको छ । उनी त्यसमै व्यस्त भएकी हुन् । अन्जुसहित सुशिला कार्की बस्नेतको महिला समूहले झन्डा बनाउने जिम्मेवारी लिएको हो । उनीहरुसँग ५० वटा सिलाइ मेशिन छ । उन्नतिशील महिला समूहमा आवद्ध ती महिलाहरु यतिबेला झन्डा बनाउन लागिपरेका छन् । ‘केही दिनअघि ५ सयवटा जति झन्डा बनाएर दियौं ’सुशिलाले भनिन्,‘यो २ सय २० वटा पनि आजै तयार गर्नुपर्ने भएको छ ।’ उनीहरुले नेपाली काँग्रेसको झन्डा कटिङ गरी सिलाएवापत प्रतिझन्डा २५ रुपैयाँ ज्याला पाउने गरेका छन् । आफूहरुको समूहमा धेरैजना महिला र धेरैवटा मेशिन भएकाले सिलाउन समस्या नभएको उनले बताईन् । उनी रच्यो बस्नेत अफ्सेट प्रेसकी संचालक पनि हुन् ।
यतिबेला झन्डा सिलाउनेदेखि लिएर झन्डामा लोगो छपाउने कामसमेत पे्रसमा बढेको सुशिलाले बताइन् । नेपाली काँग्रेसले सोमबार जिल्लाभरिका कार्यकर्ता सदरमुकाममा उतार्ने भएको छ । विरोध प्रदर्शनका लागि काँग्रेसले २० हजार झन्डा बनाउने भएको छ । एउटा वडामा २ सय वटाका दरले झन्डा बनाउन पार्टीले लगाएको काँग्रेसका बिर्तामोड ५ का वडा उपाध्यक्ष लवकुमार चौधरीले बताए ।उनले क्रियाशील सदस्यहरुबाट अर्थ संकलन गरेर झन्डा तयार गरिएको जानकारी दिए ।
यतिबेला आन्दोलनअन्तर्गत विभिन्न विरोध प्रदर्शन र सभा भइरहेका छन् । ती कार्यक्रमका लागि झन्डाको माग निकै बढेको हो । झन्डाको माग बढेसँगै कपडा व्यवसायी र कपडा सिलाउने टेलर्सहरुको व्यवसाय फस्टाउन थालेको छ । सडकमा उत्रिएका विपक्षीसँगै सत्ता पक्षले पनि यतिबेला झन्डा र व्यानरको निकै प्रयोग गरिरहेको पाइएको छ । नेकपाको सत्तापक्षीय ओली समूहले फागुन २१ गते बिर्तामोडमा ५० हजार जनता उतार्नेगरी आमसभा गर्न लागेको जनाएको छ । प्रधानमन्त्री केपी ओली त्यस सभामा आउने भएका छन् । सभाका लागि आफूहरुले साना ठूला गरी १० हजार झन्डा तयार गर्न लागेको नेकपाका कार्यालय सचिव शिव ढुंगेलले बताए । उनले व्यानर पनि धेरै सँख्यामा निर्माण हुने जानकारी दिए ।
त्यस्तै नेकपाको दाहाल–नेपाल समूहले पनि झन्डा व्यापक मात्रामा प्रयोग गर्दै आएको छ । फागुनभित्रमा त्यस समूहले पनि बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । ‘पार्टीका दुईजना अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले संवोधन गर्नेगरी आमसभा हुँदैछ ’नेकपा झापाका सचिव बिजय साम्पाङले भने ,‘ त्यहाँ ठूलो शक्ति उतार्ने छौं ।’उनले त्यस आमसभाका लागि २० हजार झन्डा बनाइने जानकारी दिए । उनले यसअघिका विरोध प्रदर्शन र सभाका लागि स्टक रहेका झन्डा र केही नयाँ प्रयोग गरिएको जानकारी दिए । उनले सत्तापक्षलाई मात दिनेगरी काठमाडौंको जस्तै भव्य विरोध सभा गरिने दावी गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ८ गते झापामा मोटरसाइकल र्याली आयोजना गर्न लागेको छ । दमकदेखि गौरीगञ्जसम्मको मोटरसाइकल र्यालीमा राप्रपाले १५ हजार जनालाई सहभागी गराउने तयारी गरेको छ । त्यस र्यालीका लागि पार्टीले २५०० राष्ट्रिय झन्डा र ५ हजार पार्टीको झन्डा बनाउन दिएको जिल्ला उपाध्यक्ष कमल खरेलले बताए । उनले त्यस कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा आउने जानकारी दिए । राजनीतिक दलहरुले झन्डा र व्यानरमा ठूलो खर्च गर्ने गरेको पाइएको छ । खासगरी आन्दोलन र निर्वाचनमा कपडा, टेलरिङ, पे्रस , होटलजस्ता व्यवसाय फस्टाउने गरेका छन् ।