बिर्तामोड, फागुन ३ । झापामा पहिलोपल्ट साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हुने भएको छ ।

स्लो बाइक रेस यसअघि भएपनि प्रतियोगिताकै रुपमा साइक्लिङ च्यालेञ्ज चाहिँ पहिलोपल्ट आयोजना गरिएको हो ।‘साइकल चलाऔँ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ’, भन्ने नाराका साथ फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ हुने भएको हो । जसको विजेताले नगद ३५ हजार र गिफ्ट ह्याम्पर पाउने सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा करिव २ सय प्रतियोगी सहभागी हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा महिला तथा पुरुष सहभागी हुनेछन् । जसमा साविक मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रतियोगी सहभागी हुने आयोजकका अध्यक्ष धनराज थापामगरले बताए ।उनका अनुसार साइकलयात्रा झापाको धुलाबारी बजारबाट शान्तिनगर, बहुबन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारी बजार आएर समाप्त हुनेछ ।

४० किलोमिटर दूरीको रहने प्रतियोगिताका प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिने सचिव रोजेश प्रसाईंले बताए ।त्यस्तै, चौथोलाई ३ हजार, पाँचौँलाई २ हजार र छैठौँदेखि दशौँसम्मलाई जनही १ हजार नगदसहित ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख नौ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम सञ्चालक बुद्ध तामाङले जानकारी दिए ।झापामा मात्र ५ सयको हाराहारीमा साइक्लिस्टहरु रहेको अनुमान आयोजकको छ । आयोजकले निर्धारण गरेको रुटमा यसअघि सामान्यता २ घण्टामा पार गरिएको रेकर्ड भए पनि छिटो चलाउनसक्ने साइक्लिस्टले एक घण्टादेखि डेढ घण्टाभित्र उक्त दूरी पार गरिसक्ने अध्यक्ष मगर बताउँछन् ।प्रतियोगिताका लागि मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मुख्य प्रायोजक रहनेछन् । सहप्रायोजकको रुपमा टावर टेम्पल इङलिस बोर्डिङ हाइस्कुल बिर्तामोड र विर्ता आई हस्पिटल बिर्तामोड रहेका छन् । त्यस्तै, जोइनर जुस, यमी अनलाइन फुड डेलिभरीलगायतका व्यावसायिक प्रतिष्ठान पनि प्रतियोगितामा जोडिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्