बिर्तामोड, फागुन ४ । समाजवादी चिन्तक स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानले शैक्षिक क्षेत्रमा बार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

निर्माणाधीन सामुदायिक विद्यालय, विद्यार्थीको शैक्षिक विकास तथा विविध क्षेत्रमा खर्चने गरी झापाका सामुदायिक विद्यालयमा सहयोग गर्ने लक्ष राखिएको प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाईले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईको अध्यक्षतामा संरक्षक प्रसाई सल्लाहकार उद्धव थापालगायतको सहभागितामा सम्पन्न प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । बैठकले यही फागुन ८ गते सि.के. स्मृति दिवस मनाउने निर्णय पनि गरेको छ । स्मृति दिवस पारेर सि.के.का समकालीन तथा राष्ट्र पुकार पत्रिकाका सम्पादक होमनाथ दाहाललाई सम्मान गरिनेछ । प्रतिष्ठानका सल्लाहकार उद्धव थापाले सि.के. चिन्तन प्रतिष्ठानलाई प्रजातान्त्रिक समाजवादको एकेडेमिक कलेज बनाउने उद्देश्य रहेको बताए ।
बैठकले सामाजिक ब्यक्तित्वहरु खगेन्द्र प्रसाई र राजकुमार पोखरेललाई प्रतिष्ठानको सल्लाहकारमा चयन गरेको महासचिव लक्ष्मी आचार्यले जानकारी दिए । वी.पी.का निकट रहेर राजनीति गरेका समाजवादी चिन्तक तथा विचार प्रवाह गर्ने स्व. सि.के. प्रसाईको २०५० साल फागुन ८ गते निधन भएको थियो । नेपाली कांग्रेस झापाका पूर्व सभापति समेत रहेका प्रसाई धनाढ्य परिवारमा जन्मिएर पनि साधा जीवन र उच्च विचारका धनी मानिन्थे । आफ्नो जीवनकालमा समसामयिक राजनीतिक विषय र प्रजातान्त्रिक समाजवादका विषयमा विचार प्रवाह गने सि.क.ेका विचारहरुलाई समेटेर यसअघि ‘सि.के. प्रसाईका विचारहरु’ नामक पुस्तक प्रकाशित भएको थियो । उनकै विचारलाई समेटेर आजको सरल राजनीति तथा ब्यावहारिक राजनीतिको प्रारम्भिक रुपरेखा पुस्तक प्रकाशित भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्