झापा , फागुन ४ । नेपालीहरुको मौलिकता बोकेको स्वागत सत्कारको सँस्कार हो नमस्कार । चिरपरिचित होस् वा अपरिचित पात्र । कोही भेट भयो भने हामीले दुई हात जोडेर नमस्कार स्वागत अभिवादन टक्र्याउँछौ । यो नेपाली सँस्कार र बिशेषता विश्व समुदाय माझ स्थापित छ ।
नमस्कार नगर्ने र नफर्काउने व्यक्तिलाई संस्कारहीन र आडम्बरी मान्ने गरिन्छ । यस्ता आचरण भएका राजनीतिक दलका नेता कार्यकर्ता निकै भेटिन्छन् ।

सर्वसाधारणले नमस्कार गर्दा नफर्काउने नेता एउटा दलभित्र मात्र छैन , प्रायः सबै दलमा पाईन्छ । सर्वसाधारण वा कार्यकर्ताले मुखले उच्चारण गरी दुई हातले जोडेर नमस्कार गरिरहँदा नहेरेको जस्तो गर्ने , हात नउठाई नमस्कार मात्र भन्ने , एक हात मात्र उठाउने धेरै छन् । व्यस्त भएको बेला त ध्यान नपुग्न सक्छ तर, कतिपय नेताको आचरण नै त्यस्तो खालको पाइएको छ । जसबाट कतिपय कार्यकर्ता आफ्ना नेताबाट विच्किएको घटना पनि छन् ।

नेपाली काँग्रेसका  नेता कृष्णप्रसाद सिटौला हतपत नमस्कार नफर्काउनेमा पर्छन् । आफूहरुले नमस्कार गर्दा सिटौलाले नफर्काएको गुनासो गर्ने धेरै कार्यकर्ता छन् । त्यस्तै काँग्रेसका  केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी पनि त्यही कोटीमा पर्छन् । त्यस्तै नेकपाभित्र पूर्व एमालेका मनकुमार गौतम , रविन कोइराला , हरिचरण शिवाकोटीलगायतका नेताहरुले पनि नमस्कार सहजै फर्काउने नगरेको एक कार्यकर्ताले बताए । उनले भने –आदर गरेर अरुले दुई हात जोडेर नमस्कार गरिरहँदा नेताले पनि दुई हातले नै नमस्कार फर्काउनु पर्छ । त्यस्तै नेकपाभित्र पूर्व माओवादीका राम कार्की , झलकसिंह दर्लामी मगरजस्ता नेताहरुमा पनि सजिलै नमस्कार फर्काउने बानी नभएको एक कार्यकर्ताले बताए । उनले कम्युनिष्ट हुनेहरुले नमस्कारको सट्टा मुठ्ठी उचालेर लालसलाम भन्नु पर्नेमा त्यस्तो पनि नगरेको अनुभव सुनाए । आफूभन्दा ठूलाले नमस्कार नफर्काउँदा ऊप्रतिको आदरभाव घट्ने हुँदा त्यो कुरा आदरणीय व्यक्तित्वहरुले बुझ्नु पर्ने उनको सुझाव छ ।

त्यसैगरी कतिपय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले पनि सेवाग्राहीहरुलाई नमस्कार नफर्काएको गुनासो सुनिएको छ । बिर्तामोड नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई सो आरोप लाग्ने गरेको थियो । बिशेषगरी नेपाली समाजमा आफुभन्दा ठूलाहरुको आगमन र आतिथ्यतामा आदर सम्मानको सूचकको रुपमा नमस्कार गर्ने परम्परा छ । नेपाली सँस्कार अनुसार यसरी नमस्कार नगर्ने र नफर्काउनेहरुलाई शिल, स्वभाव र सँस्कारी नभएको मानिन्छ । विज्ञहरुकाअनुसार नमस्ते संस्कृत शब्दबाट आएको उत्तम पूर्वीय सभ्यताको सत्कार संस्कार हो । जसलाई वैज्ञानिक आत्माको संकेतका रुपमा हिन्दुधर्म परम्पराले अंगिकार गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्