भद्रपुर, फागुन ४ । सरस्वती पुजाको अवसरमा सामाजिक सद्भाव कायम गर्ने उद्धेश्यले भद्रपुर ९ स्थित टोल विकास संस्थाले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ ।
चन्द्रगढीस्थित प्रज्ञा एकाडेमी छेउमा मंगलबार आयोजित कार्यक्रमका बीच प्रश्नोत्तर, चकलेट रेस , भलिवललगायतका आधा दर्जनबढी प्रतियोगिता गरिएको हो ।
विभिन्न विधाका प्रतियोगिताहरुमा आमा समुहबाट प्रथम ,द्वितीय र तृतीय स्थानमा विजयी हुने क्रमशः लक्ष्मी दाहाल, नेत्र बराल र जमुना थापालाई रिचार्ज कार्ड ,प्रसाद लगायतका विभिन्न सामग्रीसहित पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी सोही टोल विकास अन्तर्गतका कक्षा १ देखि १२ सम्म अध्ययनरत सहभागी विद्यार्थीहरुमध्येबाट प्रथम ,द्वितीय र तृतीय स्थानमा विजयी हुनेलाई समेत शैक्षिक सामग्रीसहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा हण्डीफोर, बेलुन फुटाईलगायतका विभिन्न प्रतियोगिता गरिएको थियो । टोल विकास संस्थाका अध्यक्ष विनय राईको अध्यक्षता तथा भद्रपुर ९ का कार्यबाहक वडा अध्यक्ष राम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण टोल विकास संस्थाका सचिव सरोज ढकालले गरेका थिए ।