बिर्तामोड , फागुन ५ । आगामी फागुन १६ गते हुन लागेको बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बुधबार दुईवटा प्यानलको घोषणा भएको छ ।

नेपाली कांगे्रसनिकट व्यवसायीहरुको लोकतान्त्रिक व्यावसायिक प्यानल तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त व्यावसायिक प्यानल घोषणा गरिएको हो । उम्मेद्वारी दर्ताको अघिल्लो दिन अघिपछि गरी दुईवटै प्यानल घोषणा गरिएको हो । नेकपा र राप्रपाले दिउँसो ३ बजे र कांगे्रसले साँझ ५ बजे आफ्नो प्यानल घोषणा गरेको हो । पार्टी विभाजन हुन लागेको नेकपाको दुईवटा समूहलाई एकै ठाउँमा ल्याएपछि त्यसमा राप्रपाको समेत कार्यगत एकता गराएर संयुक्त व्यावसायिक प्यानल बनाइएको छ । त्यसका लागि दुवै समूहका नेकपाका तल्लो तहका नेतृत्वहरुले विभिन्न चरणमा छलफल गरेका थिए । नेकपाको केन्द्रीय तहमा पार्टी विभाजनको संघारमा रहेका बेला बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा भने एक ढिक्का भएर सकारात्मक सन्देश दिने प्रयास गरिएको छ । नेकपाको एकतामा राप्रपाले चुनावी कार्यगत एकता गरेको छ । अर्कोतिर चार जना अध्यक्षका आकांक्षी भएपछि सहमति नहुने संभावनाका बीच कांगे्रसले एउटै प्यानल बनाउन सफल भएको छ । त्यसमा कसैले त्याग गरेका छन् भने कसैलाई अन्यत्र व्यवस्थापन गरिएको छ ।
बाणिज्य संघको घोषित निर्वाचन कार्यक्रम अनुसार फागुन ६ गते उम्मेद्वारी दर्ता रहेको छ ।
लोकतान्त्रिक व्यावसायिक प्यानल
नेपाली कांगे्रस निकट रहेर लोकतान्त्रिक विचार भएका व्यवसायीहरुले लोकतान्त्रिक व्यावसायिक प्यानल घोषणा गरेका छन् । जुन प्यानलमा अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटी बनेका छन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने , उद्योग उपाध्यक्षमा संजीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे, जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई ,महासचिवमा रविन्द्र भट्टराई , उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह , कोषाध्यक्षमा दिपेन्द्र राउत , सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाईको उम्मेद्वारी घोषणा भएको छ । त्यस्तै महिला सदस्यमा तिलोतमा खत्री , तुलसा ढकाल , खुल्ला सदस्यमा विशाल थापा , सन्नी गोयल , दीपक मित्तल , बलराम सिटौला राम , मनोज शाह रौनियार , पुकार वराल र विकास बस्नेत उम्मेद्वार बनेका छन् । अध्यक्ष पदका लागि प्रशान्त भण्डारी , पार्वता विमली र बलराम कार्कीले पनि आकांक्षा राखेका थिए । अन्ततः उनीहरुले त्याग गरेपछि शिवाकोटीलाई अध्यक्षको उम्मेद्वार बन्ने अवसर जुरेको हो । कांगे्रसले वाणिज्य संघको उम्मेद्वार चयन गर्न नेता देउमान थेबेको संयोजकत्वमा सहयोग तथा समन्वय समिति गठन गरेको थियो । सोही समितिले सहमति कायम गरी सर्वसम्मत उममेद्वार तय गरेको जनाइएको छ । कार्यक्रममा समितिका संयोजक थेबेले नै उम्मेद्वार घोषणा गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी , जिल्ला सभापति उद्धव थापा ,जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए । कार्यक्रममा कांगे्रसका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संयुक्त व्यावसायिक प्यानल
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनमा बनेको संयुक्त व्यवसायी प्यानलले उम्मेदवार घोषणा गरेको छ ।
बुधबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा चुनावी उम्मेद्वार सार्वजनिक गरिएको हो । चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी घोषणा गरेको छ । त्यस्तै सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता, भगिरथ लुइँटेल, उदय शाह, सूर्य खतिवडा, गोवन्द कार्की तथा महिला सदस्यमा रुचि शिवाकोटीे, सोनी अग्रवाल उम्मेद्वार बनेका छन् । नेकपाका दुईवटै समूहलाई मिलाएर उम्मेद्वारी दिन लगाइएको त्यस गठबन्धनमा राप्रपाले भने ३ पदाधिकारी र ३ सदस्य पाएको छ । राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्की रहेका छन् । निर्वाचन परिचालन तथा मूल व्यवस्थापन समितिका संयोजक नेकपा नेता रोमणि भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य ज्ञानुराम प्रसाईले उम्मेद्वारको घोषणा गरेका थिए । घोषणा सभामा नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, बिर्तामोडका पुराना व्यवसायी नेता वेदप्रकाश अग्रवालले शुभकामना मन्तव्य राखेका थिए । कृष्ण पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए । फुट्न लागेको नेकपाको दुई समूहले एक भएर राप्रपाको साथ पाउँदा पार्टी निकटस्थ व्यवसायीहरु उत्साहका साथ उल्लेखनीय मात्रामा घोषणा सभामा सहभागी भएका थिए । कार्यक्रममा अध्यक्षका उम्मेद्वार भट्टराईले आफ्नो प्यानलको चुनावी प्रतिवद्धता व्यक्त गरेका थिए ।