बिर्तामोड , फागुन ६ । करिब दश वर्षपछि नेतृत्व पाएको कृषि थोक बजार बिर्तामोडको भावी रणनीति र योजना निर्माणबारे छलफल शुरु भएको छ ।

कृषि थोक बजार बिर्तामोडलाई अब कस्तो बनाउने भन्ने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया थालिएको हो । सेवाक्षेत्रभित्रका जनप्रतिनिधि ,कृषि शाखाका प्रमुख , किसान प्रतिनिधि , वाणिज्य संघका प्रतिनिधि ,कृषि थोक बजारका व्यवसायी प्रतिनिधि, फलफूल तथा तरकारी व्यवसायी संघका प्रतिनिधिहरुलाई भेला गराएर उनीहरुको सल्लाह सुझाव अनुसार भावी कार्ययोजना बनाउन लागिएको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए ।

आजदेखि शुरु गरिएको तीनदिने गोष्ठीमा ती सरोकारवालाहरुको सहभागिता रहेको छ । बिर्तामोड कृषि थोक बजारले बिर्तामोड , अर्जुनधारा , बुद्धशान्ति ,मेचीनगर , कनकाई , हल्दीबारी ,भद्रपुर र बाह्रदशी गरी ५ नगरपालिका र ३ गाउँपालिकालाई सेवाक्षेत्र मानेको छ । कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष पौडेलले अल्पकालीन र दीर्घकालनि कार्ययोजना प्रस्तुत गरेका छन् । अल्पकालीन योजनामा फोहोरमैला व्यवस्थापन , कार्यालय भवनको जिर्णोद्धार , फर्निचर खरिद , सार्वजनिक शौचालय निर्माण , केही प्रवेशद्वार बन्द गरी प्रवेशद्वारको संख्या सीमित गर्ने , निर्देशिका र कार्यविधि बमोजिम कर्मचारीको दरबन्दी मिलान तथा व्यवस्थापन , डिजिटल बजार सूचना प्रणालीको स्थापना तथा संचालन , बजार साइन बोर्ड स्थापना , फोहोरमैला व्यवस्थापनका लागि साझेदारीमा ड्रम वितरण , कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम संचालन र ढल निर्माण रहेका छन् । त्यस्तै दीर्घकालीन योजनामा मास्टरप्लानको डिपीआर तयार गर्ने ,दाताको सहयोगमा पार्किङसहितको आधुनिक कृषिमण्डीको निर्माण, कोल्डस्टोर र धर्मकाँटाको निर्माण , डबल सटरको अवधारणामा बजारको पक्की व्यावसायिक भवनको निर्माण , वैज्ञानिक र पारदर्शी भाडादरको कार्यान्वयन र कृषि उपज क्रेडिटकार्ड मार्फत डिजिटल माध्यमबाट खरिद बिक्रीको व्यवस्थालगायत रहेका छन् । कृषि थोक बजार बिर्तामोडभित्र ३७६ वटा व्यवसाय संचालन रहेका छन् ।

प्रदेश सांसद एकराज कार्कीले गोष्ठीको उद्घाटन गर्दै प्रवल संभावना र अवसर रहेको बिर्तामोडको कृषि थोक बजारलाई अन्तर्राष्ट्रिय बजारको रुपमा विकास गर्न सुझाव दिए । व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल , बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई , चन्द्रडाँगी कृषि फार्मका प्रमुख विरेन्द्रराज पराजुली ,नेकपा बिर्तामोडका नगर अध्यक्ष ज्ञानुराम प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेको कार्यक्रमको संचालन शालिकराम भट्टराईले गरेका थिए । गोष्ठीको पहिलो दिन कृषि विज्ञ कमल निरौलाले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्