रामप्रसाद ढुंगेल

युएई , फागुन ७ । झापाली समाज इजरायलको अध्यक्षमा सामाजिक व्यक्तित्व माला योन्जन तामाङ निर्विरोध चयन भएकी छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा १० वर्षअगाडि इजरायल पुगेकी योन्जन इजरायलको नेपाली सामाजिक गतिविधिमा सक्रिय महिला हुन् ।
झापाको दमकमा स्थायी बसोबास भएकी योन्जनले इजरायलमा रहेका झापाली मात्रै नभएर समग्र नेपालीहरुको सुखदुःखमा झापाली समाज इजरायलले सहकार्य गर्ने वाचा गरेकी छन् ।
जुम भर्चुअल माध्यमबाट मार्फत १७ फ्रब्रुअरी बुधवारका दिन भएको झापाली समाज इजरायलको चौथो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सावित्रा लुइँटेल घिमिरे, उपाध्यक्षमा नम्रता उप्रेती, निर्मला दाहाल पौडेल, देवी खरेल पाण्डे र मुना अधिकारीलाई नियुक्त गरेको छ ।
यसैगरी महासचिवमा सुन्दर नेपाल, सचिवमा पबित्रा बजगाई क्षेत्री, कोषाध्यक्षमा पबित्रा चापागाई र सह कोषाध्यक्षमा बिष्णु उप्रेतीलाई चयन गरेको छ ।
केन्द्रीय समितिमा महिलाहरूको वर्चस्व रहेपनि झापाली समाज इजरायलले महिला विभाग गठन गरी संयोजकमा रमा बुढाथोकीलाई नियुक्त गरेको छ ।
यसैगरी झापाली समाज इजरायलको केन्द्रीय सदस्यहरुमा दुर्गा चापागाई, कुशल शर्मा,प्रज्ञा कार्की, आइन्द्र लिम्बू, शंखर क्षेत्री, गोपाल घिमिरे, राज भट्टराई, राजेन्द्र उप्रेती, मायु खड्का र मिना संग्रौला सेढाई रहेका छन् ।

अधिवेशनको प्रमुख अतिथिमा इजरायलस्थित नेपाली राजदुतवासका राजदुत डा. अन्जान शाक्य उपस्थित भएर झापाली समाज इजरायलले गरेका सामाजिक गतिविधिको खुलेर चर्चा गरेकी थिइन् । अधिवेशनको सफलताको लागि विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको उपस्थिति थियो भने इजरायलमा रहेका विभिन्न संघसस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको भव्य उपस्थिति रहेको थियो ।
अधिवेशनको सभापतित्व झापाली समाज इजरायलका निवर्तमान अध्यक्ष सन्दिप भन्डारीले गरेका थिए भने निवर्तमान सचिव मुना अधिकारी ले स्वागत गीतमार्फत उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।
अधिवेशनमा समाजको आर्थिक गतिविधिलगायत विगतको कार्यकालमा झापा मात्र नभएर नेपालका बिभिन्न ठाउँमा गरिएको सामाजिक तथा परोपकारी कार्यहरूको बारेमा सस्थाकी निवर्तमान कोषाध्यक्ष निर्मला दाहाल पौडेलले विस्तृत विवरण पेस गरेकी थिइन् ।

“समग्र झापाको विकासको लागि हामी झापाली“ भन्ने मुल नाराका साथ स्थापना भएको समाजले झापामा मात्र नभएर नेपालको अन्य विभिन्न ठाउँहरूमा दुखी, गरिब, असहाय, विरामी र विभिन्न समस्यामा परेका पीडित नेपालीहरुलाई सहयोग गरेको अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालका राजनीति दलका इजरायलस्थित जनवर्गीय संगठनका प्रतिनिधि, सामाजिक, धार्मिक,जातीय संघ–सस्था,कला तथा साहित्यिक संस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थितिले कार्यक्रम निकै भब्य बनेको थियो ।
नवनियुक्त अध्यक्ष योन्जनले आगामी दिनहरूमा सबैसँग सहकार्य गर्दै, समाजलाई अझै क्रियाशील रूपमा सामाजिक दायित्वहरू बोध गर्दै, अगाडि बढाउँदै लाने प्रतिबद्धता गरेकी छन् । प्रमुख अतिथि राजदुत शाक्यले पुरानो कार्यसमितिलाई धन्यवाद दिइन् । उनले मन्तव्यको क्रममा झापाली समाज इजरायलले नेपाल र नेपालीप्रति गरेको सहयोगको उच्च मूल्याङन गर्दै नेपाली राजदुतावासले आगामी दिनहरूमा इजरायलका सबै संस्थाहरुसँग नजिकमा रही सहकार्य गर्दै, हर किसिमको सहयोग गर्न तत्पर रहेको बताइन् ।
अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य इजरायलस्थित झापाली समाजले बिगतका दिनहरुमा एक दरिलो समाजका रूपमा धेरै सामाजिक गतिविधि गरेको स्मरण गर्दै विशेष अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले झापाली समाज इजरायलले भोलिका दिनहरुमा पनि अझै यस्तै कामहरु गर्दै जाओस् भनेर शुभकामनासहित अन्तर्राष्ट्रिय झापाली समाजको पनि उत्तिकै साथ रहने बताए । शुभकामना मन्तव्यको क्रममा गैर आवासीय नेपाली संघ समन्यव परिषद इजरायलका अध्यक्ष गणेश गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज इजरायलका निवर्तमान प्रमुख सल्लाहकार दीपकप्रसाद ओलीलगायत अधिवेशन सफलताको लागि उपस्थित सबै संघ–सस्थाका प्रतिनिधिहरुले खुलेर झापाली समाज इजरायलको प्रशंसा गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

उक्त अधिवेशनको संयोजन समाजकी निबर्तमान वरिष्ठ उपाध्यक्ष माला योन्जनले गरेकी थिइन् भने निवर्तमान उपाध्यक्ष साबित्रा लुइँटेल घिमिरेले संचालन गरेकी थिइन् । अधिवेशनको सफलताको लागि योगदान गर्ने सबैलाई निवर्तमान अध्यक्ष तथा अधिवेशनका सभापति सन्दिप भण्डारीले धन्यवाद प्रकट गर्दै झापाली समाज इजरायलको निमन्त्रणालाई स्वीकार गरी आफ्नो अमुल्य समय लिएर कार्यक्रमको शोभा बढाई दिएकोमा नेपाली दूतावास इजरायल, इजरायलस्थित सामाजिक संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्