झापा , फागुन ८ । आगामी फागुन १६ गतेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि मनोनयन दर्ता गराएका चार जना उम्मेद्वारको उम्मेद्वारी खारेज हुने भएको छ ।

खारेज हुनेमा दुईवटै प्यानलका दुई–दुई जना उम्मेद्वार रहेका छन् । संयुक्त व्यावसायिक प्यानलका तर्फबाट जनसम्पर्क उपाध्यक्षमा उम्मेद्वारी दिएकी उर्मिला विमली खरेल , सदस्य पदका उम्मेद्वार उदयशंकर शाह तथा लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट सदस्य पदका उम्मेद्वारहरु विकास बस्नेत र महिला सदस्य तिलोतमा खत्रीको उम्मेद्वारी खारेज हुने भएको हो । उम्मेद्वार बन्नका लागि वाणिज्य संघको सदस्यता लिएको दुई वर्ष हुनु पर्ने प्रावधान रहेको छ । तर, ती उम्मेद्वारहरुले पेस गरेको फर्मले सदस्यता लिएको एक वर्ष मात्र पुगेको देखिएको छ । उद्योग वाणिज्य संघको विधान २०७३ को दफा २४ को ‘च’ अनुसार उम्मेद्वार हुनुभन्दा अगाडि २ आर्थिक वर्ष अगावै यस संस्थाको सदस्य रहेको हुनुपर्ने उल्लेख छ । वाणिज्य संघको विधान अनुसार प्रक्रिया नपुगेकाले उम्मेद्वारी सदर नहुने भएको निर्वाचन समितिले जनाएको छ । जनसम्पर्क उपाध्यक्षकी उम्मेद्वार खरेलले पान नं ६०८९४११८१ रहेको वशिष्ठ ट्रेडर्स , सदस्यमा उम्मेद्वारी दिएका बस्नेतले पान नं ६०७७९३७४९ रहेको फस्ट एपिसोड , खत्रीले पान नं ३०३९३८८४४ रहेको प्रगति चिया प्याकेजिङ उद्योग र शाहले पान नं ६०६६३०६५३ रहेको जयनेपाल इन्टरनेशनल एजुकेशन प्रालि पेस गरेका थिए । ती फर्महरुले सदस्यता लिएको एक वर्ष मात्र पुगेको जनाइएको छ । उम्मेद्वारी खारेन हुने खरेल वाणिज्य संघको विधान प्रमाणित गर्ने मध्येका एकजना हुन् । वाणिज्य संघको निर्वाचन कार्यक्रम अनुसार फागुन ६ गते दुईवटै प्यानलका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका थिए । १९ पदको लागि दुईवटा प्यानलका १९–१९ जना र एकजना स्वतन्त्र गरी ३९ जनाले उम्मेद्वारी दिएका थिए । आज उम्मेद्वारी फिर्ता र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ । मनोनयन दर्ता भएका व्यक्तिहरुलाई छानविन गरी आज साँझ ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्