बिर्तामोड , फागुन ८ । विराट अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोड ४ ले आयोजना गरेको रक्तदान कार्यक्रममा यस वर्षकै सबैभन्दा बढीले रगत दान गरेका छन् ।

रगतको अभाव भइरहेका बेला सो सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १६६ जनाले रगत दान गरेका छन् । जसमध्ये १८ महिला र १४८ जना पुरुष रहेका छन् । जुन यस वर्षको सबैभन्दा बढी भएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले जनाएको छ । दिउँसो ४ बजेसम्म १६६ जनाले रगत दान गरेको सहकारी संस्थाका अध्यक्ष नवीन खरेलले बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष पे्रमसागर कर्मचार्यले १६५ औं पटक रगत दान गरेका छन् । त्यस्तै सहकारी संस्थाका अध्यक्ष खरेलले ३० औं पटक रगत दान गरेका छन् । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य एवं सहकारीका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सदस्य दिनेश भट्टराईले रगत दान दिएर शुरुवात गरेका थिए । कार्यक्रममा रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी , ओमप्रकाश लुईटेललगायतको आतिथ्य रहेको थियो । उपाध्यक्ष यादव ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।कार्यक्रममा रेडक्रस बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो भने सहयोगी संस्थाका रुपमा आदर्श व्याङक्वेट र सुरुवाती कोठा नेपाल रहेका थिए । रगत अभावबाट प्रभावित विरामीहरुको जीवन बचाउनका लागि गत वर्षदेखि विराट अर्जुन सहकारीले फागुन ८ गते रक्तदान कार्यक्रम गर्दै आएको छ । गत वर्ष १२० जनालाई रक्तदान गर्न लगाई सो सहकारी रक्तदान गर्ने जिल्लाको चौथो संस्था बनेको थियो ।