बिर्तामोड, फागुन ८ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं विश्लेषक सिके प्रसाईको २७ औं स्मृति दिवस शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

स्मृति दिवसको अवसरमा सिके स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सिकेलाई ‘राजनीतिको विश्वकोष’को संज्ञा दिए ।राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिका बारेमा पूर्ण ज्ञान राख्ने सिकेले अंग्रेजी, नेपाली बंगला भाषामा अत्यन्तै समयसान्दर्भिक लेखहरु लेख्ने गरेको स्मरण पनि गरे ।
‘सिके सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो, वीपी र सिकेले आफ्नो निष्ठा र सिद्धान्त कहिल्यै छाड्नुभएन, उहाँहरुले देश र जनताको हितका लागि राजनीति गर्नुभयो’–पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले भने–‘पार्टीमा लागेका नेताहरुले अहिलेको विलासी जीवनप्रति आत्मचिन्तन गर्नुपर्छ र आफूलाई समाजवादी बाटोमा हिडाउनुपर्छ, समाजवादी संस्कार अवलम्बन गर्नुपर्छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका बारे जानकारी राख्ने त्यो अद्भूत क्षमता सिकेमा रहेको स्मरण गर्दै उनी अत्यन्तै मितब्ययी, सरल र समाजवादलाई ब्यवहारमा उतार्ने नेता भएको टिप्पणीसमेत गरे ।
बर्तमान समयमा निष्ठाको राजनीति च्यूत हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै नेता सिटौलाले सत्ताको नेतृत्व गर्नेहरुमा निष्ठा, त्याग र जनताको सर्वोच्चताभन्दा ब्यक्तिगत र गुटगत स्वार्थ हावी हुँदा राजनीतिक अस्थिरता निम्तिने खतरा औंल्याए ।
केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन संविधानमाथिको अतिक्रमण भएको चर्चा गर्दै नेता सिटौलाले सर्वोच्च अदालतले विघटनलाई मान्यता दिए जनप्रतिनिधिले बनाएको संविधानको महत्व समाप्त हुने दावी समेत गरे ।
कार्यक्रममा अर्का वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले नेपाली कांग्रेसका नेताहरु वीपी र सिकेको निष्ठाकै कारण धेरै जनता कांग्रेस भएको चर्चा गर्दै उनीहरुको विरासत कायम राख्न अहिलेका नेताहरुले समाजवादी आचरण दैनिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सिकेका विचार तथा नेपाली कांग्रेसका गतिविधिलाई प्रतिवन्धित समयमा समेत जनतासमक्ष लैजान महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा सिकेका समकालीन ब्यक्तित्व पत्रकार होमनाथ दाहाल र समकालीन नेता भैरवप्रसाद थपलियालाई सम्मान गरिएको थियो । ती ब्यक्तित्वहरुलाई प्रमुख अतिथि सिटौलाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाईले सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित ब्यक्तित्व दाहालले सिकेसँगको सामिप्यता र उनको लेखनक्षमताबारे चर्चा गर्दै वीपीको निधनपछि सिकेलाई वीपीकै उत्तराधिकारीका रुपमा लिइएको स्मरण गरे ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, पूर्व सभापति पूर्णानन्द शर्मा, प्रतिष्ठानका सल्लाहकार खगेन्द्र प्रसाईलगायतले आ–आफ्नो धारणा राख्दै सिकेको सादगी जीवन, समाजवादी दर्शन अनुरुपको संस्कार, विश्व राजनीतिबारे जानकारी राख्ने अद्भूत क्षमताको चर्चा गर्दै प्रत्येक नेताले समाजवादी संस्कार अवलम्बन गर्नसके मात्रै उनीप्र्रति सच्चा सम्मान हुने धारणा ब्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानले जिल्लाका सामुदायिक विद्यालयहरुका लागि बार्षिक रुपमा प्रदान गर्ने शैक्षिक सहयोगस्वरुप ५० हजार रुपैयाँ यस बर्ष देवी मावि विर्तामोडलाई प्रदान गरिएको छ । सो क्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका दयासागर आचार्यलाई नेपाली कांग्रेस झापाका सभापति थापाले सदस्यता प्रदान गरे ।
सि.के चिन्तन प्रतिष्ठानका अध्यक्ष टीका प्रसाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार भटराई र सञ्चालन महासचिव लक्ष्मी आचार्यले गरेका थिए ।