बुधबारे , फागुन ८ । बुधबारे जेसीजले शनिबार लागूऔषधविरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।

लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले बुधबारे जेसीजले एकवर्षे अभियान सञ्चालन गरेको थियो ।
दोस्रो चरणको कार्यक्रमअन्तर्गत शनिबार बुद्धशान्ति गाउँपालिकाका विभिन्न क्लिनिक, मुख्य ठाउँ र पालिका क्षेत्रका करिब २ सय ठाउँमा ‘लागूऔषध प्रयोगकर्ता र विक्रेतालाई निरुत्साहित गर्न संग्लन व्यक्तिका बारेमा तुरुन्त प्रहरीलाई खवर गरौं ।’ भन्ने चेतनामूलक पम्प्लेट टाँस्दै माइकिङ गरिएको थियो ।
बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अत्यधिक घुइचो हुने गाउँपालिका परिसरमा प्रमुख अतिथि भुजेलले सचेतनामूलक पम्प्लेट टाँसेर कार्यक्रमको शुभारम्भ गरेका थिए । बुधबारे जेसीजका विनोद नेम्बाङको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भुजेलले लागूऔषधले नकारात्मक प्रभाव पारिरहेको सन्दर्भमा सबै मिलेर यो समस्यासँग जुध्नु पर्ने अवस्था आएको बताए ।
संयोजक नेम्बाङले स्वागत मन्तव्य राखेकोे कार्यक्रमको औचित्यमाथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको विशिष्ट आतिथ्य, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवालको विशेष आतिथ्यता थियो ।
महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राईलगायतको आतिथ्यता थियो । सो अभियानमा बुद्धशान्ति गाउँपालिका, इलाका प्रहरी कार्यालय बुधबारे, फो सेभेन गाइज बुद्धशान्तिको सहकार्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्