बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आउन अब एक साता मात्र बाँकी छ । निर्वाचन नजिकिदै गर्दा उम्मेद्वारहरु भोट माग्न व्यस्त छन् । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित भएपछि झनै चुनावी चहलपहल तीब्र बनेको छ । चुनावी मैदानमा लोकतान्त्रिक व्यावसायिक र संयुक्त व्यावसायिक गरी दुईवटा प्यानल उत्रिएका छन् । दुवै प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेद्वार दोहोरिएका छन् भने संयुक्त प्यानलका तर्फबाट नयाँ अनुहारहरुको उम्मेद्वारी परेको छ । संयुक्त व्यावसायिक प्यानलका तर्फबाट महासचिव पदमा उम्मेद्वारी दिएका अर्जुनकुमार मैनाली पनि बिर्तामोड उद्योग वाणिजय संघका लागि नयाँ अनुहार हुन् । तर, नयाँ उद्योगी व्यवसायी भने होइनन् । बेजोड जोश जाँगर र हौसलासहित उनी चुनावी मैदानमा होमिएका छन् ।

विगत १२ वर्षदेखि उत्पादनमूलक उद्योग संचालन गर्दै आएका बिर्तामोड १ निवासी व्यवसायी मैनाली एक दर्जनजति उद्योग व्यवसायमा संलग्न छन् ।पाथीभरा स्टील इन्डष्ट्रिज , कावेली सिमेन्ट उद्योग, ओमकार रेडिमिक्स कंक्रिट प्रालि, ओम कास्टिङ उद्योग , ओम जलेश्वर उद्योग, बीएण्डबी ट्रेड प्रालि , गरिमा पल्टिपर्पोज , सौर्या हार्डवेयरलगायतका उद्योग व्यवसायमा उनको प्रत्यक्ष आवद्धता रहेको हो । त्यस्तै उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उनी संस्थापक अध्यक्ष हुन् भने डाइनामिक क्लब झापाको नेतृत्व गर्दै आएका छन् । त्यस्तै उद्योग परिसंघ र झापा वन पैदावर संघको सदस्य रहेका छन् । मतदाता सदस्यको हैसियतले उनी २०६९ सालदेखि बिर्तामोड उद्योग वाणिज्य संघमा आवद्ध भएका छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं ः–
तपाईले संयुक्त व्यावसायिक प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिनु भयो । महासचिव पद नै रोज्नुको कारण ?
प्रश्नका लागि धन्यवाद । हैन शुरुमा मैले अध्यक्ष पद खोजेको थिएँ । त्यो पद नपाएपछि महासचिव पदमा उम्मेद्वारी दिएको हुँ । कुनै पनि संघसंस्थामा आवद्ध हुन खोज्दा आफूसँग निहीत कार्यक्षमतालाई महसुस गर्नु पर्छ ।मसँग बिर्तामोड उद्योग वाणिज्य संघलाई नेतृत्व गर्ने क्षमता छ जस्तो लाग्छ । मसँग इच्छा शक्ति छ । कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्छु भन्ने आत्मविश्वास छ । विगत ४० वर्षदेखि एउटै समूहले एकपक्षीय ढंगले विरासत कायम गरेर मनोमानी गरेका छन् । वाणिज्य संघलाई राजनीतिको अखडा बनाएका छन् । त्यसलाई तोड्न जरुरी छ । ४० वर्षसम्म हुन नसकेका बाँकी कामहरुलाई पुरा गर्नु पनि छ ।
–वर्तमान नेतृत्वले के के काम गर्न बाँकी छोडेको जस्तो लाग्छ ?
पूर्वकै व्यापारिक हब बन्दै गएको बिर्तामोडमा व्यापार व्यवसायको क्षेत्रमा धेरै काम गर्न बाँकी छन् । यत्रो जनघनत्व भएको शहरमा एउटै सार्वजनिक शौचालय छैन । पार्किङको व्यवस्था छैन । सडक वत्ती छैन । नाइट भिजन, सीसीटिभीको व्यवस्था छैन । माग बढ्दै गएपनि रात्रिकालीन बजार लगाउन सकेको छैन । वस्तुगत व्यापारीका समस्या धेरै छन् । त्यसतर्फ वाणिज्य संघले ध्यान दिन सकेको छैन ।
यी चुनावी प्रतिवद्धता त यहाँको प्यानलले नै उठाएको हो , तपाईको आफ्नो निजी भिजन पनि त होला नि ?
मैले भारतमा गएर इन्भेस्ट एण्ड रिस्क एनलाइसिस्मा दुईवर्षे कोर्स गरेको छु । १० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गरेर १५० प्रकृतिका व्यवसायमा १०–१० जनाका दरले उत्प्रेरित गर्न सक्दा १५०० जनालाई रोजगारी दिन सक्छौं । जसबाट आर्थिक वृद्धिसँगै बेरोजगारको समस्या पनि समाधान हुने छ । दोस्रो र तेस्रो मुलुकबाट आयातलाई न्यूनीकरण गर्न सक्छौं ।
पुराना टीममा बसेकाहरुसँग अनुभव र दक्षता छ , विल्कुलै नयाँ अनुहारसँग के अपेक्षा गर्न सकिन्छ ?
हामीले २६ बुँदे चुनावी घोषणापत्र जारी गरेका छौं । त्यसमा विभिन्न मुद्धालाई उठाएका छां ।वर्षौदेखिको एकलौटी विरासतका कारण व्यवसायीमा जुन वितृष्णा र नैराश्यता छ, त्यो हुन नदिनेमा हामी बिश्वास दिलाउन चाहन्छौं । हाम्रो साझा प्रतिवद्धता जुन छ , त्यो पूरा गर्न हामी कटिवद्ध छौं ।
वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल राजनीतिक दलहरुले बनाएका हुन् , व्यवसायीहरुले होइन । वाणिज्य संघको निर्वाचनलाई राजनीतिक रुपमा निरपेक्ष बनाउन सकिदैनथ्यो ?
राजनीति र व्यवसायमा अन्तर छ । तर ,व्यवसायीहरु राजनीतिभन्दा टाढा रहन सक्दैनन् । हरेक क्षेत्र राजनीबिाट निर्देशित छ । तर , म हरेक कुरालाई राजनीतिक प्लेटफर्म बनाउनु पर्छ भन्ने मान्दिनँ ।
तपाई त ठूलो उद्योगी हुनुहुन्छ चुनावमा निकै नै खर्च गर्नु हुन्छ होला ?
पैसा खर्च गरेरै चुनाव जित्न सकिन्छ भन्ने मान्यता म राख्दिनँ । धेरै उद्योग व्यवसाय भएकाले टर्नओभर ११ सय करोड जति होला । त्यसमा ४०० करोड ऋण छ । म धेरै खर्च गर्दिनँ । भोट किन्ने कुरा आउँदैन । यसो २–४ लाख खर्च हुन्छ जुन स्वाभाविक पनि हो ।
अन्त्यमा , तपाईको जित्ने आधार के हो ?र , मतदाताले तपाईलाई किन भोट दिनु पर्ने ?
मसँग व्यवसायीको हकहितका लागि कुशलतापूर्वक काम गर्ने क्षमता छ । अर्को कुरा निर्वाचन अर्थात व्यालेटलाई म युद्धसरह लिन्छु । युद्धमा होमिसकेकाले जितेरै छाड्ने दृढ आत्मबिश्वास छ । अघिल्ला कार्यसमितिले गरेका विभेदपूर्ण कार्यलाई हामी अन्त्य गर्छौं । साना व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान गर्छौं ।सार्वजनिक शौचालयलगायतका भौतिक समस्यालाई निराकरण गर्छौं । ४० वर्षसम्म त्यही एउटै समूहले गरेको काम मतदाताहरुले हेरिसकेका छन् । कुर्सीको राजनीतिबाहेक अरु केही गरेनन् । त्यसैले अब परिवर्तनको खाँचो छ । वाणिज्य संघमा रुपान्तरण चाहने हो भने आममतदाताहरुलाई महासचिव पदको उम्मेद्वार म अर्जुनकुमार मैनालीसहित हाम्रो सिंगो संयुक्त प्यानललाई अत्याधिक मतले विजय गराउन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्