दमक,फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको उपयुक्त माध्यम निर्वाचन भएकाले त्यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

मिडिया नेपालले आज विहान दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्ष थापाले देशलाई अस्थिर हुन नदिन ताजा जनादेश नै एकमात्र विकल्प भएकाले त्यसलाई दलहरुले अवसरका रुपमा उपयोग गर्नुपर्ने औल्याए ।
निर्वाचनवाट नै अहिलेको राजनीतिक तरलता हट्न सक्ने भन्दैं अध्यक्ष थापाले भने –‘देशलाई स्थिरतामा लैजान ताजा जनादेश नै हो, त्यसमा सवै राजनीतिक दलहरु लाग्नुपर्छ ।’
नेकपालाई सरकार चलाउन जनताले दुईतिहाईको जिम्मेवारी दिएपनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गर्दा संबैधानिक संकट आएको उनको भनाई थियो ।
वर्तमान संकटको निकास भनेकै निर्वाचन भएको बताउँदै उनले यदि सरकारले तोकिएको मितिमा निर्वाचन हुन नसके मुलुक थप अस्थिरतातिर जाने र त्यसले वर्तमान व्यवस्थामा नै थप संकट आउने जिकिर गरे ।
सरकार सञ्चालनका सम्बन्धमा विशेष परिस्थितिको सृजना भए वर्तमान संविधानले संसद विघटन गर्नसक्ने सम्मको अधिकार दिएको भएपनि दुईतिहाई स्पष्ट बहुमतप्राप्त सरकारले यसरी संसद विघटन गर्न पाउने कि नपाउने भन्ने विषय चाहिँ संविधानमा प्रष्ट उल्लेख नहुँदा अहिलेको गतिरोध उत्पन्न भएको उनको भनाई थियो ।
उनले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन भएको र त्यसको जस्तोसुकै फैसला पार्टीलाई स्वीकार्य हुने स्पष्ट पारे ।
संघीय संरचनामा गएसंगै मुलुकमा तयार भएको संघीय संरचना नै गलत भएको टिप्पणी गर्दै उनले हालको संघीय शासन प्रणाली आर्थिक रुपमा समेत महँंगो भएकोले मुलुकले धान्न नसक्ने प्रष्ट हुँदै गएको बताए । जनताले तिरेको कर र विदेशीको ऋण लिएर संघीयताको बोझलाई नेपाली जनताले धान्न कठिन हुँदै गएको भन्दैं उनले अव संघीयताको बोझलाई अन्त्य गर्न संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नभएको बताए ।.

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्