बिर्तामोड , फागुन १० । विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईवटा समूहले जिल्लामा आ–आफ्नो पार्टीगत संरचना निर्माण गर्न थालेका छन् ।

जिल्ला अध्यक्ष रेग्मी

साविक १७७ जनाको जिल्ला कमिटीलाई यथावत मान्दै त्यसमा आफू पक्षीय कार्यकर्ता थपेर नेकपाको ओली समूहले केही दिनअघि ६०१ जनाको समिति बनाएको थियो । भर्खरै दाहाल–नेपाल समूहले पनि आफ्नो समूहको जिल्ला अध्यक्ष तोकेको छ । सो समूहको जिल्ला अध्यक्षमा वेदराज रेग्मी चयन भएका छन् । जिल्ला अध्यक्ष चिन्तन पाठक नेकपाको ओली समूहमा गएपछि दाहाल–नेपाल समूहमा अध्यक्ष पद खाली रहेको थियो । दाहाल–नेपाल समूहको केन्द्रीय तहले रेग्मीलाई जिल्ला अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।त्यसैगरी जिल्ला सचिवमा मणि साम्पाङलाई यथावत राखिएको छ । साम्पाङ सिंगो नेकपाको सचिव नै रहेका थिए । विभाजनको संघारमा पुग्नुअघि नेकपा झापामा १७७ जनाको जिल्ला कमिटी रहेको थियो । त्यस कमिटीका पदाधिकारी र सदस्यहरु दुईतिर तितरवितर भएका छन् । तर, दुवै समूहले सिंगो १७७ जनाको साविक जिल्ला कमिटी आफूतिर रहेको भन्दै त्यसलाई गन्न छोडेको छैन । साविक जिल्ला कमिटीका सचिव साम्पाङ दाहाल–नेपाल समूहमा गइसकेर त्यस समूहको सचिवको जिम्मेवारी सम्हालिसक्दा ओली समूहले उनीलाई नै सचिव राखिरहेको छ । तर, ओली समूहले भने केही पालिकाहरुमा आफ्नो समूहको संयोजक नियुक्त गरिसकेको छ । साविक बिर्तामोड नगर समितिका अध्यक्ष ज्ञानुराम प्रसाई अर्को समूहमा गएपछि ओली समूहले उमानाथ ओलीलाई बिर्तामोडको नगर संयोजक तोकेको छ भने अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकामा पनि त्यो समूहले संयोजक तोकेको छ । काम गर्न गाह्रो भएपछि आफ्नै समूहको संयोजक तोकिएको नेकपाको जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव शिव ढुंगेलले बताए ।
जिल्ला अध्यक्ष तोकिएपछि अब दाहाल–नेपाल समूहले पनि जिल्ला कमिटी विस्तार गर्न लागेको जनाएको छ । जिल्ला अध्यक्ष तोकिएपछि अब जिल्ला कमिटी विस्तार गरिने जिल्ला सदस्य धर्मराज शिवाकोटीले बताए ।उनले साविकको १७७ जनालाई आधार मानेर त्यसभन्दा माथि सदस्य थप गरिने जानकारी दिए ।उनका अनुसार जिल्ला कमिटी विस्तार गरिसकेपछि पालिकाहरुमा पनि आफ्नै कमिटी निर्माण हुनेछ ।

जिल्ला अध्यक्ष पाठक

पार्टी कार्यालयको विवाद यथावत
दुईवटा पार्टी अलग अलग भइसकेको अबस्थामा नेकपाको जिल्ला पार्टी कार्यालय भने एउटै छ । बिर्तामोडमा रहेको जिल्ला पार्टी कार्यालयलाई दुवै समूहले दावी गर्दै आएका छन् । त्यसक्रममा पटकपटक विवाद हुँदै आएको छ । दुवै समूहले ताला लगाउँदा केही महिना बन्द रहेको सो कार्यालयमा ओली समूहले ताला फुटाएर संचालन गर्न थालेपछि विवाद बढेको हो । केही दिनअघि दाहाल–नेपाल समूहले लगाएको ताला फुटाएर ओली समूहले कार्यालय चलाउँदा फेरि दाहाल–नेपाल समूहले तालाबन्दी गरेको थियो । तर, सोही दिन ओली समूहले फेरि ताला फुटाएको छ । सोही कार्यालयमा आफूहरुले कामकाज संचालन गरिरहेको कार्यालय सचिव ढुंगेलले बताए । आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा दाहाल–नेपाल समूहका जिल्ला इन्चार्ज रविन कोइरालाले आफूहरु पनि त्यही कार्यालयमा गतिविधि संचालन गर्न आउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्